काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीबाट भएको क्षति, नदी तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे छलफल भएको हो।
यसअघि प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।
बाढी प्रभावित क्षेत्रका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ खटिरहेको बताएका छन्।
उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा बाढीका कारण विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी गराएका छन्।
सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवश्यक थप कदम चाल्ने विषयमा समेत सरकारले सबै संयन्त्रहरुलाई क्रियाशिल बनाइ निरन्तर समन्वय गरिरहेको जनाइएको छ ।
वि.सं.२०८३ भदौ १० बुधवार १४:१३ मा प्रकाशित




























