चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम हुँदै गए पनि अझै सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान शाखाका अनुसारभोटेकोशी हुँदै आएको बाढीको बहाव आज दिउँसो करिब ३ः३० बजे चितवनको देवघाटमा आइपुग्ने अनुमान गरिएको छ।
चितवनको देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। प्रारम्भिक आकलनअनुसार पानीको सतहमा करिब ३ मिटर वृद्धि हुन सक्ने र पानीको सतह करिब ८ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।
यसअनुसार देवघाटमा आउने बाढी २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको शाखाले जनाएको छ।
अर्को सूचना जारी नभएसम्म नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदीको बहाव र पानीको सतहमा हुने परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।
वि.सं.२०८३ भदौ १० बुधवार १३:१८ मा प्रकाशित





























