काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गम्भीर संवेदना व्यक्त गर्दै प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार, खोजी, उपचार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारबाट भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले खोजी तथा उद्धार जारी राखेको छ।
उद्धार कार्यमा नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकप्टरले २३६ उडान गरिसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा भारतीय तथा चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।
गम्भीर घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ। रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा मोबाइल अस्पताल सञ्चालन गरी विशेषज्ञ चिकित्सकसहितको टोलीले सेवा दिइरहेको छ। धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेली क्षेत्रमा समेत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
घाइते तथा उनीहरूका परिवारका सदस्यलाई मनोपरामर्श सेवासमेत प्रदान भइरहेको छ। अस्पतालमा रगतको सहज उपलब्धताका लागि ‘रक्त सूचना पोर्टल’ सञ्चालनमा ल्याइएको छ।
३ हजार ५०० विस्थापितलाई अस्थायी आवास
बाढीबाट विस्थापित करिब ३ हजार ५०० नागरिकलाई विद्यालय तथा सार्वजनिक–सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा तीन र नुवाकोटमा १५ वटा राहत शिविर सञ्चालनमा ल्याइएको छ।
नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा विभिन्न स्वयंसेवी संस्थालाई समेत राहत तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको छ। प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।
राहत संकलन र वितरण तीव्र
सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग संकलन गरिरहेको जनाएको छ। आज मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर प्राप्त भएको सरकारले जनाएको छ।
वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड तथा बैंक खातामा मात्र सहयोग गर्न आग्रह गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ। संकलित सामग्री हवाई तथा स्थलमार्गबाट रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पुर्याएर वितरण भइरहेको छ।
सञ्चार तथा सडक सम्पर्क पुनःस्थापनामा प्रगति
बाढीबाट नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भए पनि हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन्। बाँकी टावर पनि मर्मत गरी सञ्चालनमा ल्याउने काम भइरहेको छ।
वैकल्पिक सडक मर्मतपछि रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। गल्छी–मलेखु खण्डको लेदो हटाएर पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको तथा धादिङबेँसी जोड्ने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको सरकारले जनाएको छ।
६७५ शव फेला
हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्।
पहिचान हुन नसकेका शवको डीएनए लगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर सम्बन्धित निर्देशिकाबमोजिम व्यवस्थापन गरिने र परिवारले पहिचान गरेका शव परिवारलाई नै जिम्मा लगाउने सरकारले स्पष्ट पारेको छ।
पीडितको मनोबल बढाउने गरी सूचना प्रवाह गर्न आग्रह
सरकारले विपद्को कठिन अवस्थामा नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्था तथा सहयोगी निकायले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै आमसञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको मनोबल बढाउने गरी सत्य–तथ्य सूचना प्रवाह गर्न आग्रह गरेको छ।
विपद्का बेला समाजले भरोसा, सही दिशा र सत्य–तथ्य खोज्ने भएकाले अपुष्ट सूचना, हल्ला तथा भ्रम फैलाउने सामग्रीबाट जोगिन समेत सरकारले आग्रह गरेको छ।
“नेपाल सरकार प्रभावित नागरिकहरूको साथमा छ र उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ,” सरकारले जनाएको छ।
वि.सं.२०८३ भदौ १३ शनिवार २१:४५ मा प्रकाशित






























