काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा राखेको पछिल्लो स्टाटसलाई लिएर प्रश्न उठाएकी छन्।
उनले प्रधानमन्त्रीको स्टाटस सरकारको प्रवक्ताको शैलीमा आएको टिप्पणी गर्दै प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले संकटका बेला नेतृत्वदायी भूमिका देखाउनुपर्ने बताएकी छन्।
तिमिल्सिनाले सामाजिक सञ्जालमा लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, यो तपाईँको स्टाटस सरकारको प्रवक्ताको जस्तो छ। तपाईँ यो देशको कार्यकारी प्रमुख हो।”
उनले विपद्का बेला छिमेकी मुलुक चीन र भारतसँग सहयोग माग्नु राष्ट्रवादविपरीत नभएको धारणा राखेकी छन्। चीन र भारत नेपालका विशिष्ट सम्बन्ध भएका छिमेकी भएको उल्लेख गर्दै उनले यस्तै संकटका बेला दुवै मुलुकसँग आवश्यक सहयोग माग्नुपर्ने बताएकी छन्।
“हाम्रा दुई देशसँग सहयोग माग्नु याचना होइन,” उनले भनेकी छन्।
प्रधानमन्त्रीले विपद् व्यवस्थापनका लागि विज्ञहरूको सल्लाह लिनुपर्ने र छिटो तथा प्रभावकारी रूपमा काम गर्न सकिने उपाय अवलम्बन गर्नु नै पहिलो दायित्व भएको तिमिल्सिनाको भनाइ छ।
उनले विपद्को व्यवस्थापन कसरी गरिन्छ भन्ने आधारमा इतिहासले सरकारको मूल्याङ्कन गर्ने भन्दै प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा पनि नेतृत्वदायी र निर्णयमुखी सन्देश दिन सुझाव दिएकी छन्।
“यो विषयमा विज्ञहरूको सल्लाह लिने, जे गर्दा छिटो र प्रभावकारी ढंगले काम हुन सक्छ, त्यही गर्नु प्रधानमन्त्रीको पहिलो दायित्व हो,” उनले लेखेकी छन्।
तिमिल्सिनाले प्रधानमन्त्रीले परम्परा र विधि स्थापित गर्ने भूमिका निर्वाह गर्नुपर्नेमा त्यसलाई भत्काउने काम गर्न नहुनेसमेत टिप्पणी गरेकी छन्।
“प्रमले परम्परा र विधि बसाउने हो, भत्काउने होइन,” उनले भनेकी छन्।
वि.सं.२०८३ भदौ १३ शनिवार २२:०५ मा प्रकाशित






























