back

इजरायलमा रहेकी चेली भन्छिन्–‘मैले फेमली वातावरण गुमाए’

वि.सं.२०७४ असार १० शनिवार

306 

shares
NTC AD
Global IME AD

jyoti-sharma रोजगारीका लागि इजरायल जान पाउँदा खुसी थिइन् उनी । मनभरी सपना सजिएका थिए, इजरायल पुगेर छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिने । घर व्यवहार राम्रो बनाउने अनि देश फर्केर सम्मानित जीवन जिउने । तर, ११ वर्षे इजरायलमा काम गरेको अनुभव सुनाउँदै पर्वत कुर्घा १० फलेवास नगरपालिका घरभई हाल पेप्सीकोलामा बसोबास गर्ने ज्योती शर्मा भन्छिन्, ‘इजरायलमा पैसा त कमाएँ । तर, पैसा नै सबथोक रहेन छ । नेपालमा भन्दा इजरायलमा सुख पाउँदा पनि मन भने खुसी हुन् सकेन् ।’

आज भन्दा ११ वर्ष अघि म्यानपावर एजेन्सीमार्फत ‘केयरगिभर’ कामका लागि इजरायल पुगेकी थिइन् ज्योती शर्मा । साना–साना दुई छोराछोरीलाई छाडेर । छोरा पाँच कक्षामा पढ्थे भने छोरी सानै थिइन् । नेपालमा रहँदा पनि ज्योतीले ग्रामिण स्वालम्बन विकास कार्यक्रम (आरएसडिसी) ४ वर्ष काम गरिन् । नवलपरासीमा कस्तुरी नाम रहेको कोल्डस्टोर चलाइन्, झण्डै ७ वर्ष । तर, पनि अझै केही राम्रो गर्ने रहर जाग्यो उनको मनमा । अनि त साना छोरा र छोरीलाई छोडेर इजराइल पुगिन् ।

ज्योती पर्वतको कुर्घामा रहेको शारदा माविमा पढ्दा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् । सोही स्कुलमा पढाउने शिक्षक हेलिराज शर्माले उनलाई कम्युनिष्ट बन्न प्रेरित गरेका थिए । पछि उनै हेलिराज शर्मालाई आफ्नो जीवनसाथी पनि रोजिन् ज्योतीले ।

‘इजरायलमा कामको सम्मान छ, पैसा पनि छ । राम्रो अनि सुख पनि छ । तर, मन खुसी छैन् । परिवार र समाजबीच ग्याप भयो । धेरै आफन्तहरू बित्नु भयो । सानाले चिन्दैनन् । अझै केही आफन्त त पैसो कमाएकी छ भनेर टाढा–टाढा हुन्छन् । मैले फेमली वातावरण गुमाए ।’ ज्योतीले सुनाइन् ।

ज्योतीका अनुसार इजरायलमा कामको सम्मान र काम गरेजति पारिश्रमिक भएपनि सुरुमा त निकै गार्हो हुन्छ । भाषाको समस्या, वृद्धवृद्धा, मानसिक रोगी, अपाङ्ग व्यक्तिहरूको स्याहारसुसार गर्नुपर्दा काम सहज हुँदैन । नेपालमा रहँदा केही काम नगर्नेहरूलाई त्यहाँ पुगेर रातदिन खटेर काम गर्दा समस्या पनि हुन्छ । तर, विस्तारै त्यहाँको समाजमा भिज्दै गएपछि गा¥हो नहुने ज्योतीको अनुभव छ ।

ज्योतीले इजरायलमा बसेर आफ्नो घरपरिवार र आफन्त मात्र हेरेकी छैनन् सामाजिक काममा पनि सक्रिय छन् । उनले ओम जनजागरण इजरायलको प्रवक्ता तथा पर्वत समाज इजरायलको महासचिव भएर सामाजिक भूमिका पूरा गरिरहेकी छन् । नरेन्द्र क्षेत्री अध्यक्ष रहेको पर्वत समाज इजरायलले भूकम्प पीडितका लागि आर्थिक सहयोग, कारागारमा पानी सफाइ गर्ने युरो गार्ड तथा सिलाइ मसिन वितरण, नवलपरासीको आवास प्राथमिक विद्यालय र पर्वतको भँगेरामा रहेको एक विद्यालयललाई शैक्षिक सामग्री वितरण गरेको छ । भावि दिनमा पनि शिक्षाकै क्षेत्रमा योगदान गर्ने उद्देश्य रहेको महासचिव ज्योतीले बताइन् । ‘हामीले पर्वतका लागि एम्बुलेन्स लैजाने भनेर पैसा कलेक्सन गरिसकेका छौं, तर सरकारले अहिले एम्बुलेन्समा पाइने ट्याक्स छुट रोकेको भएर पर्खिरहेका छौं । त्यो क्लियर हुनासाथ पर्वतमा एम्बुलेन्स लैजान्छौं ।’

ज्योतीका अनुसार इजरायलमा अहिले झण्डै पाँच हजारको हाराहारीमा नेपालीहरू छन् । पहिले २०–२५ हजार थिए । इजरायलबाटै धेरै युरोप र अमेरिका पुगे । अहिले इजरायल सरकार र नेपाल सरकारको सम्झौता अनुसार नेपालीहरू रोजगारीका लागि इजरायल जान थालेका छन् । यो संख्या बढ्दै जाने ज्योतीको विश्वास छ । ‘त्यहाँबाट युरोप देशहरू जान सजिलो छ । उनीहरू युरोप अमेरिका घुम्न जान्छन्, कामदारले उसको राम्रो सेवा गरेको छ भने, तेरो भविष्य बन्छ भने बस् भनेर उतै छोडेर पनि फर्किन्छन् । मेरो कामदार तेरो देशमा घुमेर आउँछ भनेर उनीहरूले नै कागज बनाइ दिए भने झन सजिलो हुन्छ, कति त्यसैगरी पनि गएका छन् ।

ज्योतीका छोरा भारतको वेंगलोरमा आइटी पढीरहेका छन् भने छोरी राजधानीको एक कलेजको होस्टलमा बसेर पढ्छिन । विदेशबाट फर्केपछि छोराछोरीको साथमा रहेर समाजसेवा गर्ने धोको छ, ज्योतीको । ‘फर्केपछि समाजसेवामै लाग्छु । यहि पर्वत समाजलाई बृहद् बनाएर लैजाने धोको छ ।’ ज्योती भन्छिन् ।

प्रस्तुति : चन्दा थापा

वि.सं.२०७४ असार १० शनिवार ०३:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD