back
CTIZAN AD

खेलाडीलाई प्रोत्साहित गर्नुपर्छः उपप्रधानमन्त्री महरा

वि.सं.२०७४ साउन ९ सोमवार

687 

shares

krishna-mahara९ साउन, काठमाडौँ । उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री कृष्णबहादुर महराले खेलकुद क्षेत्रको विकासका लागि सरकार लागि परेको बताउनुभएको छ ।

नेपाल भारोत्तोलन संघको आयोजनामा उन्नाइसौँ युथ एसियन, २४औँ जुनियर महिला तथा ३१औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदमा सिमित स्रोतको अभावका कारण सोचेजति बजेट विनियोजन गर्न नसकेकोे बताउनुभयो ।

मन्त्री महराले नेपालगन्जमा भारोत्तोलन एकेडेमी निर्माणका लागि रु २० लाख विनियोजन गरेको र उक्त सहयोगले भारोत्तोलन खेलको विकासका लागि केही टेवा पुगेको बताउनुभयो । उहाँले आवश्यक भौतिक पूर्वाधारको निर्माण गरी सन् २०१९ मा घरेलु मैदानमा नै हुने तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीमा सरकार जुटेको बताउनुभयो ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा योगदान पु¥याउने खेलाडीलाई प्रोत्साहन गर्दै लैजान्छौँ,” उहाँले भन्नुभयो । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सरकारको सहयोगले मात्र खेल क्षेत्रको विकास सम्भव नहुने भएकाले निजी क्षेत्रले पनि साझेदारी गर्नुपर्नेमा मन्त्री महराले जोडदिनुभयो ।

आयोजक संघका अध्यक्ष रतनकुमार टण्डनले नेपाली खेलकुद इतिहासमा सो प्रतियोगिता आधिकारिक रुपले हाल सम्मकै सर्वाधिक ठूलो र प्रतिष्ठित भएको बताउनुभयो ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण तथा तालिम केन्द्रमा सोमबारदेखि सञ्चालन हुने च्याम्पियनसिपमा नेपाल, भारत, पाकिस्तान, इराक, ताजकिस्तान, बंगलादेश, थाइल्यान्ड, ओमन, भियतनाम, साउदी अरब, कतार, श्रीलंकालगायत एसियाका ३२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ युथमा ९४ र जुनियरमा १०३ गरी १९७ तथा महिलातर्फ युथमा ५२ तथाजुनियरमा ५८ गरी ११० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कूल ३०७ खेलाडीले ३२ वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा पुरुष युथतर्फ ५०, ५६, ६२, ६९, ७७, ८५, ९४ र ९४ किलो माथिको तौल समूह तथा पुरुष जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ किलो माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिला युथतर्फ ४४, ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ किलो माथिको तौल समूहमा तथा महिला जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० किलो माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७४ साउन ९ सोमवार ०३:५५ मा प्रकाशित