Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

हराउँदै गएको चर्खाबाट आयआर्जन गर्दै महिला



charkha

रत्ननगर (चितवन), १५ साउन । चितवन पदमपुरका ६० वर्षीया वृद्धा सुखमाया तामाङ हातमा ऊनीको धागो च्यापेर आउनुभयो । तौलँदा दुई किलो १०० ग्राम भयो ।

चाउरी परेको अनुहारमा चमक देखिन्थ्यो । उहाँले भन्नुभयो – “अलेली सहयोग हुन्छ । एकछिन एकछिन हो बाबु । भँैसी छ, बाख्रा छ, त्यो एकछिन एकछिन बस्या बेला गर्ने हो । यसमा मात्रै ध्याउन्न हुन्न ।” दुई दिनको फुर्सदको समय निकालेर दुई किलो १०० ग्राम धागो काट्नुभएका सुखमायाँले झण्डै रु ३०० बुझेर जानुभयो ।

एकै छिनमा यसैगरी धागो च्यापेर संस्थामा आउनुभयो वृद्ध हिमलाल घले । चार दिनमा दुई किलो ऊन तयार पारेको बताउने उहाँ संस्थाबाट रु २८० बुझेर जानुभयो । महिलाले सिकेको कामले पुरुषलेसमेत फाइदा लिँदै छन् भन्ने उदाहरण उहाँ हुनुहुन्छ ।

पहिले यहाँका महिलालाई रु १०० जम्मा गर्न धौधौ थियो । चर्खा कार्यक्रम शुरु भएपछि उनीहरुलाई वैकल्पिक पेशा गर्न ऊर्जा मिलेको छ । एकसय बचत गर्न नसक्नेहरु अहिले सहकारीमा १२ हजार रुपैयाँ भन्दा बढी जोहो गर्न सफल भएका छन् ।

चर्खा घुमाउने पेशा पछिल्लो समयमा जहीँतहीँ देखिँदैन । फाट्टफुट्ट देखिए पनि यो पेशा हराउँदो छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो काट्ने घरेलु प्रविधिको यो पेशाले स्थान पाएको देखिँदैन ।

हराउँदै गएको यो पेशा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । यहाँका स्थानीय महिला अहिले फुर्सदको समयको भरपूर उपयोग गर्दै चर्खा घुमाउँछन् । कालिका नगरपालिका– २ पदमपुरका बुद्धिमाया घले पनि ऊन काट्नुहुन्छ । चर्खा चलाएपछि यहाँको महिलामा फुर्सदको समय मजैले सदुपयोग भएको र आम्दानी पनि बढेको बुद्धिमायाको अनुभव छ ।

उहाँमाथि कच्चा पदार्थ (भेंडाको रौँ) ल्याउने, दिदीबहिनीलाई धागो काट्न लगाउने र तयारी ऊन बनाएर फेरि पठाउने व्यवस्थापनको जिम्मा छ । यो गरेबापत उहाँले १० प्रतिशत ‘कमिसन’ पाउनुहुन्छ । यहाँ अहिले २६० महिलालाई चर्खा वितरण भएको छ । एक सय २० जना चर्खा समूहमा आबद्ध छन् ।

गाउँमा उनीहरु नै संलग्न भएर खोलेको चेतना चेली बहुउद्देश्यीय सहकारीले पनि ८० जना महिलालाई चर्खा दिएको चर्खा समूहका सचिव तथा सहकारीका अध्यक्ष सत्यादेवी श्रेष्ठ बताउनुहुन्छ । अहिले बुढापाका, महिला सबैले सानो कमाइसमेत बचत गर्न थालेको उहाँ बताउनुहुन्छ । रु १०० जम्मा गर्न नसक्नेको अहिले १२ हजार रुपैयाँसम्म सहकारीमा जम्मा भइसक्यो ।

“त्यही हो मासिक १०÷१५ क्विन्टलसम्म ऊन बन्छ,” बुद्धिमायाले भन्नुभयो – “गाउँका महिलाले नजानिँदो किसिमले आम्दानी गरेका छन् ।” चर्खा चलाएर एक किलो ऊन काटेको ज्याला रु १४० छ । फुर्सदको समयमा महिला दिनमा दुई किलोसम्म ऊन काट्छन् । सहयोग पाउने हो भने यहीँ व्यवस्थापन गर्नसक्ने उहाँ बताउनुहुन्छ ।

वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन निकुञ्ज, स्थानीय सामुदायिक वन, हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको हो ।

कोषका कार्यक्रम अधिकृत सन्तोष भट्टराईका अनुसार पहिले महिला फुर्सद भएपछि दाउरा संकलन गरेर बिक्री गर्थे । अहिले फुर्सदको समय सदुपयोग गरेर घरमै आर्थिक उपार्जन गर्छन् । जंगलमाथिको मानवीय चाप घटाउन चर्खा कार्यक्रम ल्याइएको कोषका कार्यक्रम सहायक परमानन्द गर्ग बताउनुहुन्छ ।

चर्खा उनीहरुको वैकल्पिक पेशा हो । अन्य समयमा अरु नै काम गर्ने भएकाले फुर्सदको समय खेर गएको छैन । पहिले पहिले फुर्सद भयो कि जंगल जाने, दाउरा खोज्ने, अनि बिक्री गर्ने चलन अहिले चर्खाले हटाउँदै लगेको छ ।

कच्चा पदार्थ दिने र उत्पादित ऊन तथा गलैँचा लिने काम युनिक ऊनी धागो उद्योग काठमाडाँैले गर्छ । उद्योगका सञ्चालक मोहन सुवेदी अहिले मेसिनका कारण हातले बुनेको ऊनको माग घट्दै गएको दुखेसो गर्नुहुन्छ ।

“कोहीकोही हातले नै बुनेको भनेर अर्डर गर्नुहुन्छ, उनीहरुका लागि जेनतेन धानेका छौँ,” सुवेदीले भन्नुभयो – “नेपालीले खपत गर्न सक्दैनन्, सबै बाहिर पठाउनुपर्छ । अर्डर नै छैन बाहिर, मजदुरलाई काम दिनै गाह्रो भो ।”

गलैँचासमेत बुन्न थाले महिला

सामुन्नेमा बुट्टैबुटा भएको नक्शा छ । छेउमा फरकफरक रङ्गका पाँच÷सात वटा डल्ला ऊन छन् । ती ऊन नम्बरअनुसारका छन् । अगाडि गलैँचाको तानमा नक्शा हेर्दै गलैँचा बुन्दै हुनुहुन्छ पदमपुरका लीला लामा ।

“कुन ठाउँमा कुन रङ्गको बुट्टा राख्ने पहिल्यै खुट्याउनु पर्छ, नत्र बुट्टा मिल्दैन” लामाले भन्नुभयो – “धेरै बुट्टा भएको गलैँचा बुन्न साह्रै दिमाग लगाउनुपर्छ ।” कुन बुट्टामा कति नम्बर धागो जान्छ भन्ने कुरा महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।

घर बनाउने मजदुर हुनुहुन्थ्यो लीला । टपटपी पसिना चुहाएर घोटिनुपथ्र्याे । न शरीरलाई सुविस्ता न स्वास्थ्यको ख्याल । कहिले त महिनौँसम्म पनि काम पाइन्थेन । तीन बच्चा र श्रीमान्सहितको पालनपोषणको जिम्मा उहाँकै थियो ।

‘कतिन्जेल यो श्रम गर्ने, बल छउन्जेल त हो अनि के गर्ने ?’ उहाँको मनमा खुल्दुली हुन्थ्यो । त्यसपछि चर्खा चलाउन थाल्नुभयो । शुरुमा चर्खाबाट राम्रै आम्दानी गर्नुभएका उहाँले अझै आम्दानी बढाउन गलैँचा बुन्दै हुनुहुन्छ ।

“काठमाडौँमा १५ वर्षअघि सिकेको शीप अहिले काम लाग्यो,” हाँस्दै बुद्धिमायाले भन्नुभयो – “एक महिनामा एउटा सजिलै तान खस्छ ।”

“घर बनाउनेमा दैनिक काम हुन्न, यो भित्र बसेर बुन्ने हो, जति छिटो बुन्यो आफूलाई फाइदा, यो त सजिलो पेशा भएर लेबर छाडेको”– विगतको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।

पछिलो समयमा यहाँका महिलाले गलैँचासमेत बुन्न शुरु गरेका छन् । देवी विक, लीला लामा, ललिता प्रजा, बीमा थिङ र शान्ति गुरुङ गलैँचा बुनेर आम्दानी बढाउँदै हुनुहुन्छ । सामान्यतः एक थान गलैँचा बुनेको उहाँहरुले सात हजार ज्याला पाउनुहुन्छ । एक थान गलैँचाको बढीमा १८ हजार रुपैयाँसम्म पाउने गरेको बुद्धिमायाको भनाइ छ । चितवनको पदमपुरबाट पाँच वटा गलैँचा बुनेर पठाइसकिएको छ । गरिब न्यून आय भएकाका लागि यो कार्यक्रम निकै उपयोगी छ ।

यसरी शुरु भयो चर्खा कार्यक्रम

तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले विसं २०६१ बाटै पाँच समूह गठन गरेर चर्खा कार्यक्रम ल्याएको थियो । बुद्धिमायाकै नेतृत्वमा यहाँ १०० चर्खा बाँडियो । चितवन निकुञ्जको जंगलबीचमा बसेको साविक पदमपुर गाविस नै स्थानान्तरण भएकाले उहाँहरुलाई आयआर्जनमा सहज पार्न यो कार्यक्रम शुरु गरिएको थियो ।

कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल विपन्नलाई जंगलमा आश्रित हुन नपरोस्, उनीहरुको फुर्सदको समयको सदुपयोग होस् र आय बढोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको बताउनुहुन्छ ।

व्यवस्थापन अभावमा विसं २०६४ मा चर्खा कार्र्यक्रम बन्द भएको बुद्धिमाया बताउनुहुन्छ । विसं २०७० को जेठ महिनादेखि कार्यक्रम पुनः सञ्चालनमा आयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी