
नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नुहुनेछ । यसरी पठाएको रकम नेपालमा रहेका ७हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगदभुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्तगर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुने बताइएको छ ।
कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताउनुभयो’ । प्रवन्ध निर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आइएमई र मुथुत फाइनान्सको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्तगर्नुभयो । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
वि.सं.२०७४ पुस २ आइतवार ०५:३० मा प्रकाशित






























