म फेरि ढाक्रे भएको छु
ढाक्रेहरु दिनानुदिन बड्दैछन् अमेरिकी गल्लीहरुमा
भिम शमशेरको पालामा हज्जारौ नेपाली ढाक्रे बने
जंगबहादुरले हज्जारौलाई काँधमा बन्दुक थमाए र
गोर्खालीको नाममा ढाक्रे बनाए
हज्जारौं बहादुरहरु दिल्ली र गोरखपुरमा ढाक्रे बने
जीवन बलिदान दिए ढाक्रेहरु वीर गोर्खे भएर
संयौंको लावा लस्कर हुँदै ढाक्रेहरु
भूटान पुगे, बर्मा पुगे र बंगला पुगे
मुनामदनका मदनहरु बनेर धक्रेहरु खासा पुगे
ढाक्रेहरु
गर्मीको तातो बाफमा होमिदै
बालुवामा तपतप पसिना चुहाउँदै
बाको फाटेको भोटो फेर्ने चाहनामा
आमाको फाटेको धोती फेर्ने आसामा
कान्छीलाई एकसरो गुनियु चोलो दिने आकांक्षामा
पटपटी फुटेका हजुरबाका पैतालामा
एकजोर चप्ली किन्ने रहरमा
खाडी भासिएका छन् र फेरि ढाक्रे बनेका छन्
दश वर्षे युद्धले चुसिएका माइलाहरु
बन्दुक बोकेर थाकेका कान्छाहरु
आर्मी पुलिसका बुटले कुटिएका साँइलाहरु
घरबाट निस्केका जेठाहरु घर नुपुग्दै,
बाटामै लास नबनेका भए
एकमुठी शान्तिको सास फेर्न पाएका भए
माइलाहरु किन बन्थे ढाक्रे ?
शिक्षा लिने भवन नजलाइएका भए
मलमपट्टी केन्द्र मसानघाट नबनाइएको भए
नागरिकताको खोस्टो लिन जाँदा
पिउन, सुब्बा, खरदार हाकिमहरुले घुस नमागेको भए
मान्छे बोक्ने बस दिनदहाडै नजालाइएको भए
सोमलालहरुजस्तै
किन होमिन्थे ढाक्रेहरु मुग्लान ?
इति
कवि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका २०१४२०१८ का केन्द्रिय अध्यक्ष तथा ट्रष्टी सदस्य हुन् ।
वि.सं.२०७४ फागुन १३ आइतवार ०५:०३ मा प्रकाशित






























