back
CTIZAN AD

कविता : यो बाटो कसरी काटे होला ?

वि.सं.२०८२ चैत २८ शनिवार

258 

shares

छविलाल कोपिला
मजगाउँ, देउखुरी दाङ

एक युग, एक समय
यो बाटो हिडिरहँदा
सुनाइएका कथा, गीत, गजल
आहा ! सुनेका कविता, मुक्तक
पाइला पाइलामा फेरेका साँस
कदम–कदममा चलेका धड्कनहरू …
आज फर्केर हेर्दा
लागिरहेछ, कसरी हिडे होला
यति लामो बाटो ?

एकमाथि अर्को र अर्कोमाथि अर्कोगरी
चाजिएका छन् मनहरू
पत्र–पत्र गरी राखिएका छन् तिम्रा पाइलाहरू
फूलका माला उनिएझैं उनिएका छन्
तिम्रो जिन्दगीका भावनाहरू
म अहिले कुर्कुच्चा उचालेर हेरिरहेछु
त्यो तिम्रो शीरको उचाइ
अग्लो डाँडा र त्यो अग्लो पहाड
देखिरहेछु, आकाशै छुने गरि अग्लो
र, भित्तामा झुण्ड्याइरहेको पोकोझैं
चुपचाप, चुपचाप निदाइरहेको त्यो दिन पनि
आज सोचिरहेछु
यति लामो दिन
कसरी काटे होला यो बाटो ?

टन्ना बिछ्याइएको छ
सपना जस्तै सप्तरंगी गुन्द्रीमाथि
बिश्राम लिए होलान् कैयौंले
कैयौं रात, कैयौं साँझ
र, पिए होलान्
धीत् मरुन्जेल जिन्दगी चुपचाप–चुपचाप
सम्झिँदा भयावह र त्रासदीपूर्ण रात
कसरी काटे होला
कुम्भकर्णझैं निदाएर ?
तर, पनि
खोज्दै–खोज्दै यहाँसम्म आइपुग्यो
म अझै पनि सोचिरहेछु
यस्तो अन्कन्टार झाडीको बाटो हिँड्दै
कसरी उहाँसम्म आइपुगे होला ?

लाग्थ्यो, बाटो जस्तै सुन्दर जिन्दगी
जिन्दगी जस्तै सुन्दर बाटो
आहा ! कति बयान गरूँ ?
फूल जस्तै फुकेका रहरहरू
र, शिश–मञ्जिलझैं ती सपनाहरूका
मझ्धारमा उभिएर
ताराहरू गिन्न कति आनन्द आउँछ
तर, रात झ¥यो भने त, कसरी तारा गन्नु ?
र, कदम–कदाचित
ढुङ्गाको एक टुक्रा लाग्यो भने
कसरी अग्लिन सक्छ ?
त्यो शिश–मञ्जिल जस्तै सपनाहरू
म संम्झिरहेछु,
यहाँ कैयौं पटक ताराहरू झरे होलान्
र, शिश–मञ्जिल जस्तै सपनाहरू पनि भत्किए होलान्
तर पनि ऊ,
यो बाटो हिडेर
कसरी यहाँसम्म आइपुग्यो ?

दुनियाँले यो बाटो नआउनू भन्यो
धेरै अफ्ठ्यारो छ, दुःख पाउँछौ भन्यो
हरेक डोबमा काँडाहरू बिझ्छन् पनि भन्यो
तर, उर्लिदो बैंसमा कसरी रोकिन सक्छ र ?
ऊ त जूनको इसारासँगै
कतै ठोक्किदै, कतै चिप्लिँदै, कतै लड्दै
आफ्नै सूरमा हिडिरह्यो
यसरी हिडिरहँदा
यता, दुरुस्तै सुनिन्थ्यो दूर, दूरसम्म,
रातभर कुकुरहरू भुकेकों
र, सुनिन्थ्यो,
खोल्सा–झाडीहरूमा स्याल कराइरहेकों
यद्यपि, अझै पनि सोचिरहेछु
त्रासदीपूर्ण यो बाटो कसरी हिँडे होला ?

म कैयौं पटक सुनेको थिएँ
घाम नलाग्दै कैयौं साँझ ओइलाएर झर्छ
कैयौं पटक आँखाका सपनाहरू
आँखाका डिलबाट चिप्लिएर झर्छन् र मर्छन्
खै के हो ?
आज म खुब सोचिरहेछु
यति लामो बाटो ऊ कसरी काटे होला ?

वि.सं.२०८२ चैत २८ शनिवार ०८:२६ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...