
छन्द कविताः नयाँ वर्षमा
नयाँ वर्ष आयो सुसायो उमङ्ग
सबै शैल ऐले परे लाख दङ्ग ।
लुकी देवदेवी खुशी हेर्न थाले
लता वृक्ष प्रेमी बनी बेर्न थाले ।१।
नयाँ वर्षमा हर्षले ठाउँ पाओस्
सबैमा नयाँ जोस मात्रै पलाओस् ।
मुना देशभित्रै खुशीका पलाऊन्
सबै वृक्ष दाना सुनौला फलाऊन् ।२।
सबै क्षेत्र जोडौं सुआत्मीयताले
कहाँ हट्छ औंसी उज्यालो नबाले ।
गरौं भन्छ जुट्दै चमत्कार ऐले
हिमाली,पहाडी,तराई सबैले ।३।
सबै भाइ फर्कून् स्वदेशी धरामा
रमाऊन् सधैं ती बसी काख आमा ।
भई हर्ष नेपाल प्यारो बनाऔं
मिली मात्र आत्मा यहाँ गीत गाऔं ।४।
यसै वर्ष पुत्रादि होस् लाभ खास
गरे काम राम्रो मिलोस् भन्छु गास ।
यही काम पाऊन् खुशीको युवाले
सधैं साथ राखून् नि आमाबुवाले । ५।
गरी अंशबण्डा अझै दाजुभाइ
नपारून् नि टुक्रा मुमा देशलाई ।
मुमा फाइदा आज थाहा नपाई
नछोडून् कसैले धपाएर गाई । ६।
सबैका यही सालमा दुःख भागून्
सबैभित्र मीठा फलैमात्र लागून् ।
भए रोगव्यादी निको होस् सबेरै
यही बाँड्छु ईच्छा खुशीले म धेरै । ७।
नभोगून् महङ्गी सबै देशबासी
छिटो मुक्त होऊन् भए दासदासी ।
नयाँ वर्षमा रोकियोस् काटमार
नहोस् धार मौरी म नेपाल घार । ८।
यहाँ आश देओस् खुली आशमान
खुशी साथ गाऊन् सबै राष्ट्रगान ।
सबैको बसी नेत्रभित्रै रमाऔं
परे दुस्ख जम्मै धराधाम जाऔं । ९।
सफा राख्न आत्मा भरौं ज्ञान गीता
धराधाम बुझ्दै नलुट्नू सु (सीता ।
बनी शुद्ध जम्मै यहाँ दीप बालौं
छ चोखो धरा यो बुझी पुज्न थालौं । १०।
धर्मानन्द भट्ट, काठमाण्डाै नेपाल
भुजङ्गप्रयात छन्द

गजल २५
नयाँ वर्षमा नयाँ उमङ्ग आउँछ होला
दुनियाँको आँगनमा खुशी छाउँछ होला
भोको,नाङ्गो र दुःखमा पिरोलिने जनले
भरेर पेट, ढाक्न उधाङ्गो पाउँछ होला
बनपाखा हरियाली जतन भयो भने
पञ्छीले पनि खुशीको गीत गाउँछ होला
लडाईं झगडा बन्द गर्दै अब संसार
एकअर्कामा मिठो प्रित लाउँछ होला
दीर्घायु र शुस्वाथ्यको कामना दृड गर्दै
नयाँ वर्षले नयाँ सुश्मा ल्याउँछ होला ।
मनिषा प्रसाईं, इज्रायल

कविताः कसरी लेखुँ नयाँ वर्षको शुभकामना
शुभकामनाले वाल रङ्गिएका छन्
कसैले प्रगतिका आशामा
कसैले उज्यालो र समृद्धिको बाँकी उपहार
र कसैले सदभाबको राग अलाप्दै
आफ्ना साथी र शुभचिन्तकलाई
बाँडी रहेछन् कठै
नयाँ वर्षको शुभकामना ।
तपार्इंको घरमा शान्ति छाओस्
तपार्इंको परिवारको मिलाप नटुटोस्
तपार्इंलाई कहिल्यै रिस नउठोस्
नयाँ वर्ष फलोस् फुलोस् ।
यो सब त ठिकै छ तर
डाँडा माथिकी ती भाउजुको
पाखो बारी बेचेर अरब पठाएको छोरो
हिजैमात्र बाकसमा फर्काइयो,
अहिले भोकै छन् उसका दुर्इ छोरीहरु
स्कुलका कापी किताब किन्न नसकेर
पोहरदेखि परियार दाइकी छोरीले
पढ्दै गरेको स्कुल छोडिन्
मुसुरे दाइको छोरो
निमोनियाले थला परेर
पैसाको अभावमा अस्पताल देख्न पाएन
डोल्पाकी मुनाले
सुत्केरी हुँदाको पीडाले
२३ वर्षको कलिलो उमेरमा
कहाली लाग्दो मृत्यु वरण गरिन्
साथी कसरी लेखुँ तिमीलाई
नयाँ वर्षको हार्दिक शुभकामना ।
सुन्दैछु राजधानीमा रेलका कुरा
अनि महासागरमा पानीजहाज
र राजधानीतिर समृद्धिका कुरा
जनसेवकका सुबिधाका कुरा
सबै कुराहरु सबैतिर हुँदैछन अहिले,
तर मेरो घर माथिकी ती भाउजु
उनका दुर्इ छोरीको रोटी
दलित बस्तीका टुहुरा
मुसुरे दाईको पिडाको कुरो
कसैको मुखबाट किन सुनिएन ?
उफ ,
सागरको जहाज भन्दा
मुना बहिनीको जीवनको कुरा
अनि भोकाको रोटीको कुरा
बिमारीको अस्पतालको कुरा
कहिले हुने होला मेरो भूगोलभित्र ?
रक्तमुछेल बहिनीहरुलाई
ती भोका बस्तीका
सुकेका ओठहरुलाई
ती सुक्न लागेका मुनाहरुलाई
अगाडीि बाकसमा छोराको लास राखेर
मुर्छित बनेकी भाउजुलाई
के भनेर शुभकामना दिनु मैले ?
मेरो बस्तीमा उज्यालो नअएसम्म
गरीब बस्तीले जाउलो नपाएसम्म
मेरा सन्ततिहरुले
बेचिने र किनिने प्रथा नभत्काएसम्म
प्रवासबाट सन्तान मुलुक फर्कने
आस्वासन पत्र आमा बुबाले नपाएसम्म
छोरी जलेको खरानी
अबको वर्षाले नबगाएसम्म
छाउगोठमा आगो नलगाएसम्म
दुर्गम समृद्धिले नसजाएसम्म
कसरी लेखु फेसबुकको वालमा
नयाँ वर्षको हार्दिक शुभ कामना ?
म भन्छु पहिला
मान्छेको बहस होस् रेलको हैन
रोटीको बहस होस् जहाजको हैन
गरिबको तेज बनोस बिकास
दाइजोमा पोलिएका आत्माहरुको
मुक्तिको बाटो बनोस समृद्धि
बोक्सीको आरोपमा दुत्कारिएका
हाम्रा आमाहरुको आशा बनोस चेतना
अनि वालमा हैन बस्ति बोल्नेछ
दुर्गमले बोल्नेछ
र सुगमले सुन्ने छ
नयाँ बर्षको हार्दिक हार्दिक शुभकामना
इति
डिल्लीराम अम्माई – बेल्जियम
नव वर्ष २०७५को पुनित अवसरमा समस्त पाठक र स्रष्टा वर्गमा शुस्वास्थ्य, दीर्घायु, सम्बृद्धि, र सिर्जनशिलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछाैं । – सम्पादक
वि.सं.२०७५ वैशाख २ आइतवार ११:१६ मा प्रकाशित





























