
तिमी त बोकेको मान्छे
अनि तिमीलाई बोक्नेहरूले
आफ्नो स्वर्थका लागि
बारबार टोकेको मान्छे ।
मलाई त लाग्छ तिमी
हावा कम भरिएको भकुण्डो हौ
सिकारू खेलाडीहरूको खेलमा
कहिले यता छौ त कहिले उता छौ
नियम विपरित गोल गर्दै
जति खेर तिमीले जाली चुम्यौ नि ?
हो त्यतिखेर तिमीलाई
अलिकति भए’नि लाज हुनु पर्थ्यो
तिमी बाहिर जानु पर्थ्यो
अझ म त भन्छु तिमी, खम्बामा
ठोकिएर फर्कनु पर्थ्यो
तर त्यसो भएन !
तिमी सिकारू खेलाडीहरूको
प्रिय बनी मैदानमै कहिले एउटाको
त कहिले आर्काको खुट्टासँग लुट्पुटिरह्यौ
तिमीले सोचेनौ कि यो
गोल नियममा भएन
यो गोलको बिरोध सबैले गरे
तिम्रै सँगै खेल्ने केही साथीले गरे
हेर्ने दर्शकले भएन भने
छेउछेउबाट झण्डा उठे
निर्णायकले समेत सिटी फुके
तर तिमीलाई पोष्टमा छिराएरै छाडे
अनि तिमी रमायौ नि !
हो त्यही नियम मिचेकै कारण
अब तिमीले आफूमा पुरै हावा भरे नि
कुनै खेलको अवसर पाउँदैनौ
न त तिम्रा ती अवसरवादी खेलाडीहरूले नै
आज हेर त मैदान जाने बाटो छैन
न त तिम्रा खेलाडी साथीहरू आउँछन्
बिचरा तिमी त बोकेको मान्छे
अनि तिमीलाई बोक्नेहरूले
आफ्नो स्वार्थका लागि
बार बार टोकेको मान्छे ।
इति
वि.सं.२०७५ वैशाख १६ आइतवार १०:१८ मा प्रकाशित






























