back
CTIZAN AD

बाँकेमा बचतकर्ता निराश

वि.सं.२०७५ भदौ २२ शुक्रवार

591 

shares

२२ भदौ, बाँके । जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ । हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन ।

अन्य व्यावसायिक बैंकभन्दा भरपर्दो, खाता खोल्न र रकम झिक्न सजिलो, कम आय भएका र सामान्य लेखपढ गर्न जान्नेलाई सहज हुने भएकाले शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका नागरिक हुलाक बैंकप्रति बढी आकर्षित छन । तर सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेसँगै बचतकर्तामा भने निराशा छाएको छ ।

सरकारले हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सार्ने योजना ल्याएसँगै बचतकर्ता निराश बनेका छन । हुलाक बचत बैंकमा भन्दा अन्य वाणिज्य बैंकमा खाता हस्तान्तरण हुँदा बचतकर्ताले १५ प्रतिशत आयकर तिर्नुपर्नेछ । आयकर तिर्नु नपर्ने, सहजैरूपमा नयाँ खाता खोल्न र रकम जम्मा गर्न सकिने भएपछि बचतकर्ताको हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो थियो ।

रकम बचत गर्दै गरेका डुडुवा–२ बेतहनीका रामदिन बर्माले भने, “रु एक सयमै खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले यहाँ पैसा जम्मा गर्छु । सरकारले यो व्यवस्था खारेज गर्ने भनेको छ, अब कुन बैंकमा खाता सार्ने हो । खाता सारेपछि हामीलाई हैरान हुन्छ । यहाँजस्तो सुविधा अरु बैंकमा पाइँदैन ।”

कारोबार गर्न सहज भएकै कारण निम्न आय भएका बाँकेवासीको हुलाक बचत बैंकप्रतिको आकर्षण निकै बढेको हो । रिक्सा चालक रमेश धोबी भन्छन्, “सजिलो सेवा, आकर्षक ब्याजदर र सुरक्षित बचत भएकाले दिनभरि रिक्सा चलाएर कमाएको रकम यहाँ जम्मा गरिदिन्छु, अरु बैंकभन्दा यहाँ रकम जम्मा गर्न सजिलो छ ।”

बाँकेमा हुलाक बचत बैंक शुरु भएसँगै निम्न आय भएका वर्गबीच लोकप्रिय भइरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाममा रहेका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बंैकको रूपमा रहेको हुलाक बचत बैंकप्रति निम्न आय भएका समुदायका लागि सहज पहुँचका रूपमा हुलाक बचत बैंकलाई लिइएको छ ।

“हामीले सहजरूपमा सेवा पाइरहेका थियौँ, अब अन्य बैंकमा खाता हस्तान्तरण गरी कारोबार गर्दा झण्झट व्यहोर्नुपर्ने त छँदैछ । त्यसमाथि १५ प्रतिशत आयकर तिर्नुपर्ने भएको छ,’ बचतकर्ता नेपालगन्ज–२३ का बिनय बर्माले भने, ‘सरकारले यो बैंक खारेज नगरेको भए हुन्थ्यो ।’ हुलाक बचत बैंकमा बचत गरेवापत साधारण बचतमा छ प्रतिशत र जेष्ठ नागरिक बचत खातामा सात प्रतिशत बार्षिक ब्याज पाइन्छ ।

चिठ्ठीपत्रलगायत सञ्चारका अन्य काममा व्यस्त रहने हुलाकका कर्मचारी पनि बचतकै काममा बढी केन्द्रित हुनुपरेको जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाले बताए । उनले भने, “हिजोआज चिठ्ठीपत्रभन्दा पनि हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको छ । थोरै रकम जम्मा गर्न सकिने र राम्रो ब्याजदर प्राप्त हुने भएपछि यस बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।”

जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाका अनुसार बाँकेमा दुई हजार ८० खातामध्ये एक हजार ७७५ खाता सञ्चालनमा रहेका छन । बचतकर्तामध्ये न्यून आय भएका धेरै रहेको र त्यसमध्ये पनि ग्रामीण क्षेत्रका नागरिक रहेको गडरियाले बताए । बचत बैंकमा हाल रु नौ करोडभन्दा बढी रकम रहेको उनले बताए ।

फाँट प्रमुख गडरियाका अनुसार रु ५० देखिमाथि रु १० लाखसम्म जम्मा गर्न पाइने भएपछि सहजताका आधारमा बचतकर्ताको आकर्षण बढ्दो क्रममा रहेको थियो । खाता हस्तान्तरणले ग्राहकको गुनासो बढेको छ, ऋण लगानी र नयाँ खाता खोल्न विभागकै निर्देशनअनुसार रोकिएको छ । ‘तर बचतकर्ता नयाँ खाता खोल्न र ऋण माग गर्न आइरहनुभएको छ । हामीले सम्झाएर पठाउने गरेका छौँ”, फाँट प्रमुख गडरियाले भने । बाँकेमा २०६३ असोजदेखि हुलाक बचत बैंक सञ्चालनमा ल्याइएको हो ।

वि.सं.२०७५ भदौ २२ शुक्रवार १२:१५ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...