२३ असोज, काठमाडौैं । दसैंमा खसी बोका किन्दै हुनुहुन्छ ? सिङ हेर्नुहोस् । हरियो रङ देखिए किन्नुहोस् रातो देखिए नकिन्नुहोस् ।
दसैंका लागि ल्याइएका खसीबोका अधिकांश अस्वस्थ पाइएको छन् । त्यसबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो । त्यसका लागि घटस्थापनादेखि पशुचिकित्सक परिचालन हुँदैछन् ।
तिनले खसी बजार गएर स्वास्थ्य जाँच गर्नेछन् । ‘हरियो छ भने स्वस्थ्य र रातो छ भने अस्वस्थ भनि उपभोक्ताले बुझ्नु पर्यो,’ पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. चन्द्र ढकालले भने । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
काठमाडौं, कलंकी, बल्खु, सतुंगल, बानेश्वर, साँगा, नागढुंगा, बालाजु, चोभार, टुकुचा, र भक्तपुरमा पशु सेवा बिभागका चिकित्सक खटिनेछन् ।
पशुचिकित्सक टोली बिहान सातदेखि १० बजेसम्म र बेलुका तीनदेखि ५ बजेसम्म अनुगमनमा खटिने विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले जानकारी दिए ।
वि.सं.२०७५ असोज २३ मंगलवार ०८:०७ मा प्रकाशित