६ मंसिर । डडेल्धुराबाट विद्यार्थी बोकेर डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
से १ क २९३ नम्बरको बस डा केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा खस्दा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो ।बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
दाहालद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा मानवीय क्षति भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गरी मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको उपचारमा सहयोग गर्न सरकार, पार्टी कार्यकर्ता तथा अन्य सबैमा जुट्न उनले अपील गरेका छन् ।
वि.सं.२०७५ मंसिर ६ बिहीवार २१:४४ मा प्रकाशित





























