२७ पुस, तनहुँ । दुवै मिर्गाैला खराब भई उपचारमा रहेका तनहुँ व्यास नगरपालिका–७ छापथोकका २७ वर्षीय सुमन गुरुङको परिवारलाई विहिबार रु दुई लाख ५८ हजार ७२० हस्तान्तरण गरिएको छ ।
तनहुँ हङ्कङ समाजको सहयोगमा हङ्कङ निवासी दीपक गुरुङ, जसमाया गुरुङ र माया थापाको सक्रियतामा सङ्कलित उक्त रकम मिर्गौलापीडितकी आमा विना गुरुङलाई दमौलीमा आयोजित एक कार्यक्रमकाबीच समाजका पूर्वअध्यक्षद्वय भीमबहादुर गुरुङ र जङ्गबहादुर थापाले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा समाजका पूर्वअध्यक्ष भीमबहादुर गुरुङले शैक्षिक, धार्मिक, विपद्जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्दै जाने योजनाअनुरुप सो सहयोग गरिएको बताए ।
गत कात्तिक महीनामा तनहुँ युके समाजले मिर्गौलापीडित गुरुङको उपचारका लागि रु चार लाख ३७ हजार ५०० आर्थिक सहयोग गरेको थियो । रोजगारीको सिलसिलामा साउदी गएका गुरुङको दुवै मिर्गौला खराब भएको थाहा पाएपछि स्वदेश फर्किएका थिए ।
आर्थिक अवस्था कमजोर रहेका गुरुङ परिवारलाई विभिन्न सङ्घसंस्थाले उपचारका लागि सहयोग गर्न थालेका छन् । छोराको उपचारका लागि हालसम्म रु तीन लाख खर्च भइसकेको आमा विनाले जानकारी दिए ।
वि.सं.२०७५ पुस २७ शुक्रवार ०७:५१ मा प्रकाशित