back
CTIZAN AD

देवघाट पुग्ने भक्तजनलाई बास बस्न समस्या

वि.सं.२०७५ पुस २७ शुक्रवार

777 

shares

२७ पुस, रत्ननगर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजन स्नान गरेर मात्रै फर्कनु गर्नुपर्ने बाध्यता छ । देवघाटमा लाग्ने मेला तथा महोत्सवमा भक्तजनको चाप वृद्धि हुँदै गए पनि उचित बासस्थानको व्यवस्था नहुँदा स्वदेशी तथा विदेशी पर्यटक स्नान गरेर मात्रै फर्किने गरेका हुन् । नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, शिवरात्रिलगायतमा यहाँ मेला लाग्छ । माघे सङ्क्रान्तिका दिन सारा देवीदेवता देवघाट क्षेत्रमा आउने विश्वास गरिन्छ । सो दिन त्यहाँ स्नान गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ । यहाँ भारतीय पर्यटकहरू धेरै आउने बताइन्छ ।

विसं २०५० मा स्थापित देवघाट क्षेत्र विकास समितिले यसको पूर्वाधार विकासका निम्ति गुरुयोजना निर्माण गरे पनि बजेट अभावमा कारण यस क्षेत्रलाई व्यवस्थित गर्न सकिएको छैन । त्यहाँ खासै होटेल, रेष्टुरेण्ट, घरबास आदि छैनन् । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्न नारायणघाट नै पुग्नुपर्ने बाध्यता छ ।

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा प्रत्येक वर्ष माघे सङ्क्रान्ति मेला भर्न मात्रै पाँच लाख बढी धार्मिक पर्यटक आउँछन् । मेलामा आउने १० प्रतिशत पर्यटक आफन्तका घर, आश्रम, धर्मशाला र कल्पबास क्षेत्रमा बस्ने गरेका छन् भने ९० प्रतिशत हिँडेर आउने र बाटाबाटै हिँडेर फर्किने गरेका छन् ।

समितिका अध्यक्ष शिवराज पौडेलले भक्तजन बस्ने भवन निर्माणका विषयमा समिति गम्भीर भएको बताए । उनले भने, “भक्तजनको बसोबासको निम्ति अतिथि गृह, होमस्टे र शाकाहारी भोजनालय निर्माण गर्न निजी क्षेत्रलाई आह्वान गर्नुपर्छ । धेरै भक्तजन अट्ने धर्मशाला बनाउन दाताहरूलाई आग्रह पनि गरेका छाँै ।”

सुगम तीर्थस्थल देवघाटको भौतिक पूर्वधार विकास वर्षाैँदेखि नहुँदा यो समस्या जहाँको त्यहीँ छ । सरकारले ल्याउने नीति तथा कार्यक्रममा देवघाटलाई समावेश गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

एक लेनको सडक

देवघाटधाम सहजै पुग्न सकिँदैन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारीदेखि देवघाटसम्म करीब ४ किलोमिटरको एक लेनको बाटामा दोहोरो रूपमा सवारी साधन गुड्न कठिन छ । गत वर्ष यो बाटो केही फराकिलो बनाइए पनि देवघाटसम्म पुग्न सवारी साधनलाई समस्या हुने गरेको छ । मेला महोत्सवका बेलामा देवघाट पुग्न एक किलोमिटर वरदेखि नै सवारी साधन जाममा पर्ने गरेका छन् ।

समितिका अध्यक्ष पौडेलका अनुसार सरकारको प्राथमिकतामा देवघाट नपरेकाले यस क्षेत्रको विकासले फड्को मार्न सकेको छैन । मेलाका समयमा ठिमुराबाट प्रवेश गर्ने र आँपटारीबाट निस्कने व्यवस्था मिलाइएको भए पनि बाटो साँघुरो भएकै कारण भक्तजनलाई घण्टौँ लाइनमा बस्नुपर्ने समस्या रहेको पौडेलले बताए ।

जोखिममा झोलुङ्गे पुल

भरतपुर महानगरपालिका र देवघाट–वेणी सङ्गम जोड्ने मुख्य झोलुङ्गे पुलमा भक्तजनको चापका कारण जोखिम बढेको छ । विसं २०३७ मा निर्माण भएको पुलमा क्षमताभन्दा बढी भक्तजनको आवतजावत हुने भएकाले यसको जोखिम बढेको हो । “दश वर्षदेखि पुलको जोखिम बढेको शङ्का गरेका छाँै”, समितिका अध्यक्ष पौडेलले भने, “एक पटकमा ७०० जना धान्न सक्ने क्षमता पुलको भए पनि १२०० जना हिँड्नुपर्ने बाध्यता छ । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पुलको मर्मत गरिरहेका छाँै ।”

दुई सय ३५ मिटर लामो यस पुल देशकै सबैभन्दा मानिसहरू आवतजावत गर्ने झोलुङ्गे पुल भएको समितिको जिकिर छ । झोलुङ्गे पुलको एक मिटर लम्बाइ बराबर तीन मानिस धान्न सक्ने क्षमता हुन्छ । समितिले यस वर्ष माघे सङ्क्रान्ति मेलाका समयमा जोखिम न्यूनीकरण कम गर्न धेरैभन्दा धेरै डुङ्गा र ¥याफ्टिङ बोट सञ्चालन गर्ने व्यवस्थापन मिलाएको छ ।

विकल्पमा पक्की पुल

समितिले देवघाट – वेणी सङ्गम जोड्न केवलकार, त्रिकोणात्मक पुल र पक्की पुल निर्माणलाई गुरुयोजनामा समावेश गरेको छ ।

अहिले सञ्चालनमा रहेको झोलुङ्गे पुलको ९० मिटर पूर्वपट्टि पक्की पुल बनाउने कामलाई अघि बढाइएको अध्यक्ष पौडेलले जानकारी दिए । त्यसका लागि सडक विभागले माटो परीक्षण र सर्भे गर्ने काम भइसकेको छ भन्दै उनले रु ३० करोडको लागतमा पुल निर्माण हुने बताए । पुल निर्माण गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग बजेटका लागि पहल थालिएको उनले जानकारी दिए ।

भक्तजन बढ्ने

यस वर्ष माघे सङ्क्रान्ति मेला भर्न आउने भक्तजनको सङ्ख्यामा वृद्धि हुने समितिले जनाएको छ । गत वर्ष ५ लाख भक्तजन देवघाट आएकामा यस वर्ष साढे ५ लाख झक्तजन मेलामा आउने समितिका अध्यक्ष पौडेलले जानकारी दिए । हरेक दुई दुई वर्षमा आयोजना हुने चितवन महोत्सव अवलोकन गर्न आउनेहरू मेलामा स्नान पनि गर्न आउने भएकाले भक्तजनको सङ्ख्यामा वृद्धि हुने आयोजकले अनुमान गरेको छ । मेला व्यवस्थापन गर्न समितिको संयोजकत्वमा २०५ सदस्यीय समिति गठन गरिएको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ०८:०१ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...