
झापा विद्रोहका क्रममा सहादत प्राप्त गरेका झापा बुधबारे १ का राम प्रधानलाई राष्ट्रिय सहिद बनाउन वेलावेला हल्ला भए पनि पनि ती हल्ला खरानीको डल्ला झैं भएका छन् ।
राम प्रधानको शालिकमा बर्षमा एकदिन माल्र्यापण गर्न आउने राजनीतिक व्यक्तिहरुले परिवारजनलाई आश्वासन दिने र राम प्रधानको हत्यालाई राजनीतिक दाउपेजमा प्रयोग गरी आफ्नो पल्ला भारी पार्ने बाहेक कसैले केहि गर्न सकेका छैनन् ।
राम प्रधान स्मृति केन्द्र नेपाल भने राम प्रधानलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरामा लागि परेको छ । केन्द्रले राम प्रधानको व्यक्तित्वका वारेमा जनतालाई नजिकबाट चिनाउन ‘सहिद राम प्रधानको संक्षिप्त जीवनी’ शिर्षकको एक चिनारी पुस्तक प्रकाशन गरेको छ । तर पनि सहिद घोषणा गर्ने चर्चा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्र भईरहेको छ ।
भन्नलाई मात्र भनिएझैं भएको छ, वि.स २०३० कार्तिक ५ गते इलामको शान्तिपुरमा तत्कालिन प्रहरी प्रशासनले बाँसका भाटाले घोची घोची मारिएका राम प्रधानको हत्या । उनीसँगै राजनीतिमा होमिएका धेरैलाई राज्यले सहिद घोषणा गरेको छ। तर, उनलाई अझै चिन्न सकेको छैन राज्यले, या त चिन्ने कोसिस मात्र पनि गर्न सकेको छैन । राम प्रधानको जन्म वि.स. १९९७ पुस १४ गते भारतको सिक्किम राज्य अन्तर्गत साङ मंगलबारे बजारमा एउटा सामान्य निम्न मध्यम परिवारमा भएको थियो ।
उनको न्वारनको नाम धनबहादुर र नागरिकताको नाम रामप्रसाद प्रधान हो । उनको बुबाको नाम लछुमन प्रधान र आमाको नाम धनमाया प्रधान रहेकोे थियो । रामप्रसाद प्रधानको विवाह वि.स. २०१५ सालमा सिक्किम निवासी लघुनारायण श्रेष्ठ तथा नर्वदा श्रेष्ठकी सुपुत्री इन्द्रमायासँग सम्पन्न भएको थियो । इन्द्रमायाको जन्म वि.स १९९८ साल श्रावण २७ गते सिक्किमको सुमेक गाउँमा भएको थियो ।
राम प्रधानका दाजुभाइहरु आफू समेत गरी ५ जना र उनी जन्म क्रममा जेठा छोरा हुन् उनका दिदीबहिनीहरु ४ जना, छोरा २ जना र छोरी २ जना छन् । उनकोे जेठो छोराको नाम मोहन कुमार र कान्छा छोराको नाम डम्बरकुमार हो ।
झापा विद्रोहका वेला सहादत प्राप्त गरेका राम प्रधानको परिवार झापाको बुधबारे गाविस वडा नं. १ दामाटारमा कृषि पेशामा संघर्षरत जीवन यापन गरिरहेको छ । रामप्रधानको वाल्यकाल र किशोरकाल भारतको सिक्किम राज्यको साङ मङगलबारेमा बित्यो ।
वि.स २०३० कार्तिक ५ गते बेलुका इलाम शान्तिपुर जुरेमा रहेको सानो दुर्गा अधिकारीकी दिदी नरमाया र भिनाजु गंगाधर ढुंगेलका घरमा राजनीतिक पशिक्षण सम्पन्न गरी छिमेकी प्रजापति ढुंगेलका घरमा राम प्रधान र सानो दुर्गा अधिकारी सुतिरहेको अवस्थामा त्यस घरलाई झापाबाट गएका प्रहरी र तत्कालीन निरंकुश सरकार र प्रशासनका
व्यक्तिहरु सहित लगभग ६० जनाले घेराउ गरे । घर घेरिए पछि राम प्रधान घरको तलामाथि चढेर रित्तो भकारी भित्र पसे । उनी लुकेको आभास पाएर प्रहरीहरुले तलामाथि चढेर उनलाई ओह्राल्ने विचार गरे तर उनीहरु तलामाथि चढ्न सकेनन् । घरको तला बाँसको चिमले छोपेको थियो । राम प्रधान भकारी भित्र भएको प्रहरीले थाहा पायो । छिप्पिएका बाँसका तिखा भाटाले तलमुनिबाट उनको शरीरलाई घोच्न र छेड्न थालियो । तलामुनि ओर्लने आदेश दिन
थालियो । ओर्लिएको खण्डमा, आत्मसमर्पण गरेको खण्डमा केही नगर्ने, दुःख नदिने भनियो । राम प्रधान ओर्लन चाएनन्, आत्मसमर्पण गर्न चाएनन् ।
तलबाट घुसारिएका भाटालाई कम्मरमा भिरेको खुकुरी झिकेर काट्न थाले उनले । घण्टौं सम्म प्रहरीले भाटाले घोच्ने र उनका शरीरका अंग प्रत्याङगहरु रगतपच्छे र छियाछिया भए । उनले तिखा भाटाको प्रहार सामना गरिरहे । जब ती तिखा भाटाहरुले उनकोे गुप्ताङगलाई छियाछिया पारे तब उनी लडे । निरंकुश पञ्चायती व्यवस्था मुर्दावाद जनवादी व्यवस्था जिन्दावाद भन्दै छटपटाउँदै मूर्छित भए उनी अन्नतः ।
उनी मूर्छित भएको थाहा पाएर प्रहरीले घर फोरेर उनको शरीरलाई तल झा¥यो । त्यसपछि प्रहरी र सुराकीहरुले उनलार्ई झोलङुगोमा हालेर झापा चन्द्रगढी तिर झारे । केही समयपछि शान्तिपुर चैनपुरेमा ल्याएर विसाइयो । त्यसपछि दारेगौडामा ल्याएर फेरि बिसाइयो । त्यहाँ उनले पानी मागे । पानी दिइएन । पानीको सट्टा मुखमा पिसाब फेरिदेने धम्की दिइयो । त्यसपछि विरिङ खोलामा ल्याइ पु¥याएपछि उनको प्राण गएको राम प्रधान स्मृति केन्द्र नेपालले प्रकाशित गरेको ‘सहिद राम प्रधानको संक्षिप्त जीवनी’मा उल्लेख छ ।
उज्यालो हुदाँ भोटेटारमा अहिले सालिक राखेको ठाउँमा ल्याइ पु¥याइयो ।
त्यहाँ एकछिन राखेर उनको लासलाई होक्से स्कूलका प्राङगणमा ल्याएर प्रदर्शनकका लागि राखियो । राजद्रोही, देशद्रोहीको गति यस्तैहुन्छ भनियो । त्यसको प्रतिरोधमा चुइक्क बोल्ने आटँ कसैको थिएन । सर्वसाधारण चुपचाप टुलुटुलु हेर्न विवश थिए । त्यसपछि उनको लासलाई चन्द्रगढी लगी पोस्टमार्टम गरियो र परिवारलाई जिम्मा लगाइयो । यसरी राम प्रधानको भौतिक शरिरको अन्त्य भयो तर उनी जनताका हृदयमा जीवितै छन् अझैपनि ।
विभिन्न राजनीतिक घटनाका वेला सहादत प्राप्त गरेका धेरै बलिदानी व्यक्तित्वहरुलाई सरकारले राष्ट्रिय सहिदका रुपमा सम्मान दिएको छ तर बुधबारेका यी प्रधानको योगदानलाई सरकारले बुझ्न नसक्दा राम प्रधानका समकक्षी, परिवारजन तथा झापा विद्रोहलाई नजिकबाट बुझेकाले दुखेसो पोखेका छन् ।
वि.सं.२०७३ कात्तिक १० बुधवार ०८:३० मा प्रकाशित