
५ माघ, जयपुर, भारत । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार एक हजारभन्दा बढी बिरामी परेका छन् ।
यस्तै रोगका कारण गत वर्ष भारतभरी एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए ।
अहिले प्रभावित भएका गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ दिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यका भएको अधिकारीले जनाएका छन् ।
विरामीहरूलाई सेवा दिनका लागि ती राज्यमा सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान चलाएको छ ।
त्यसैगरी स्वास्थ्य अधिकारीले यस्ता रोगहरुका बारेमा जनचेतनामुलक कार्यक्रम पनि चलाइएको बताएका छन् । उनीहरूलाई रोगको लक्षण, त्यसका लागि अप्नाउनु पर्ने सावधानी र उपचारका उपायका बारेमा जानकारी दिइएको स्वास्थ्यकर्मीको भनाइ छ ।
जनचेनतामुलक अभियानका क्रममा पाँच हजार १०० जनाको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो ।
“अहिले फैलिएको स्वाइन फ्लुका कारण यही जनवरी १ देखि १७ तारिख सम्ममा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने एक हजार ३६ जना विरामी भएको पाइएको छ, तीमध्ये एक जनाको बिहीबार मृत्यु भएको छ,” राजस्थान स्वास्थ्य विभागद्धारा जारी वक्तव्यमा लेखिएको छ ।
स्वाइन फ्लुबाट विशिष्ट व्यक्ति पनि विरामी भएका छन्, ती मध्ये प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य सल्लाहकारसमेत रहेका अमित शाह पनि छन् । यही हप्ता विरामी पर्नु भएका शाहलाई अस्पताल भर्ना गरिएको थियो ।
राजस्थानको जोथपुर जिल्लामा सबैभन्दा धेरै जनाको मृत्यु भएको विवरण छ । त्यहाँ १६ जनाको मृत्यु भएको छ भने २२५ जना विरामी भएका छन् । सरकारी अधिकारीले त्यस क्षेत्रमा भ्रमण नगर्न सल्लाह दिएका छन् ।
वि.सं.२०७५ माघ ५ शनिवार ०९:१८ मा प्रकाशित






























