
७ माघ, बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बसिन्दा अहिले पनि आर्थिक अभावका कारण २० फुटमा जडान गरिएका धाराको पानी पिउन बाध्य भएको बताएका छन् ।
नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले भज्जुपूर्वाका स्थानीयहरु संग गरेको छलफलमा स्थानीय रियाज अन्सारीले आर्थिक अभावका कारण आरसेनिक युक्त पानी पिएर जीवन यापन गरी रहेकोे बताए । उनले गाँउमा विगतमा केही संस्थाहरुले धारा जडान गराए पनि पानीको गुणस्तर मापन नगरी २० फूटमा धारा जडान गरेकोले उक्त पानीबाट हरेक वर्ष बालबालिकाहरु बिरामी पर्ने गरेको बताए ।
भज्जुपूर्वाका रहिसले स्थानीय सरकार बने पनि आफूले अनुभूति गर्न नपाएको बताए । उनले वडाबाट प्रदान गर्ने धारा समेत २० फूटमा जडान गर्ने गरिएकोले उक्त धाराको पानी समेत स्वास्थ्यका लागि हनिकारक रहेको बताए । छलफलमा सहभागि रहेका मुस्लिमहरुले आफूहरुका लागि स्वच्छ खानेपानीको व्यवस्था गरिदिन नेपाल एक्रा एजुकेशनल फाउण्डेशन संग माग गरेका थिए । एक्राले पानीको समस्याको सामना गरीरहेका व्यक्तिहरुका घरमा जडान गर्दै आएको छ । एक्राले बाँकेको जानकी गाँउपालिकामा ५१,डुडुवागाँउपालिकामा १७ घरमा धारा जडान गरेको कार्यक्रम संयोजक पवन सिहले बताए ।
नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले मानव बिकास पछाडि पर्नुमा सुरक्षित पानी र सरसफाई सेवाको अभावका कारण मानिसहरुको अकालमा ज्यान जानेको बताउदै स्वच्छ पानीका लागि एक्राले पहल गर्ने बताए । उनले स्थानीय निकाय संग समन्वय गरेर भज्जुपूर्वामा केही महिना भित्र नै धारा जडान गर्ने बताए ।