१० माघ, काठमाडौँ । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घले कागजजन्य कच्चापदार्थको आयातमा सहुलियत दिन सरकारसँग आग्रह गरेको छ ।
सङ्घको आज शुरु भएको प्रथम राष्ट्रिय अधिवेशन तथा १९ औँ साधारणसभामा सङ्घका अध्यक्ष सुनील गोपाल श्रेष्ठले शैक्षिक सामग्रीका लागि आवश्यक कागज नेपालमा उत्पादन नभएकाले कागजको आयातमा सरकारले लिँदै आएको १५ प्रतिशत भन्सार महसुललाई पाँच प्रतिशतमा झार्न आग्रह गरे ।
उहाँले स्वदेशी शैक्षिक सामग्री उद्योगको विकासका लागि पुस्तक–पुस्तिका आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन वा त्यसका लागि प्रयोग हुने मुख्य कर्जापदार्थ आयात गर्दा भन्सार र भ्याट छुट दिनुपर्ने बताए । सङ्घमा देशभरका ३५० शैक्षिक तथा मसलन्द सामग्री उत्पादन गर्ने उद्योगी आवद्ध छन् ।
प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शैक्षिक सामग्री उत्पादन गर्ने उद्योगले भोग्नु परेको समस्याप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उद्योगमा कार्यरत सबै श्रमिकलाई सरकारले न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड दिए ।