
१८ माघ, हेटौँडा । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले समृद्धिको मूल आधार कृषि भएकाले सिँचाइ नपुगेको ठाउँमा सिँचाइ पु¥याएर कृषि उत्पादन वृद्धि गनुपर्ने बताएका छन् ।
प्रदेशस्तरीय सिँचाइ गुरुयोजना मस्यौदा परामर्श सम्बन्धी विहिबार यहाँ आयोजित गोष्ठीमा उनले सो धारणा व्यक्त गरेका हुन् ।
गोष्ठीमा देशको जनसङ्ख्या वृद्धि, परिवर्तित भूउपयोग एवं कृषि उत्पादनका आवश्यकताहरु थेग्न सक्ने गरी आगामी वर्षमा अवलम्बन गर्नुपर्ने उपाय खोज्न छलफल भएको आयोजनाका परियोेजना प्रशासक निरज धौभडेलले जानकारी दिए ।
देशलाई कर्णाली जलाधार, नारायणी जलाधार र कोशी जलाधार गरी तीन जलाधारका रुपमा छुट्याएर गुरुयोजना तयारी गरिएको तथा वन, आवादी, जल क्षेत्र, बगर एवं चट्टान लगायतको नक्साङ्कन गरेर सम्भावित सिँचाइयोग्य क्षेत्रको पहिचान गरी नक्सा तयार पारेको प्रशासक धौभडेलले जानकारी दिए ।
आयोजनाका निर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइ गुरुयोजना २०७५ को जानकारी गराउनुभएको थियो भने जलस्रोत विज्ञ शिवकुमार शर्मा, भूमिगत जलस्रोत विज्ञ सबिना खत्री तथा संस्थागत विकास विज्ञ निर्मल विष्टले सिँचाइ विकास गुरुयोजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा गुरुयोजनाले तराईका जिल्लामा भूमिगत सिँचाइको अध्ययन र हाल विद्यमान सिँचाइ योजनाको अध्ययन गरेर भविष्यमा कति पानी निकाल्न सकिन्छ भन्नेमा जोड दिने, मौसम परिवर्तन, बाली प्रणाली, सिँचाइको संस्थागत विकासलगायत विषय समेट्नेलगायतका मस्यौदा समावेश गरिएको थियो ।
गोष्ठीमा प्रदेशसभाका उपसभामुख राधिका तामाङ, विभिन्न समितिका सभापति, सांसद तथा प्रदेशका विभिन्न जिल्लाका सिँचाइ तथा खानेपानीसँग सम्बन्धित व्यक्तित्वको सहभागित थियो । सिँचाइ गुरुयोजनालाई राज्यको नयाँ संरचनाअनुसार परिमार्जन गर्न जलस्रोत तथा सिँचाइ विभाग जलस्रोत योजना सुविधा आयोजनाले गोष्ठी आयोजना गरेको हो ।
वि.सं.२०७५ माघ १८ शुक्रवार ०९:०५ मा प्रकाशित






























