

हे
भगवान ! एक्काईसौं सताब्दीमा पनि मेरो देश समृद्ध बनेन !!
सरकारले गरेन ?
छिमेकी देशले गरेनन र गर्न दिएनन् ??
नेताहरू भ्रष्ट छन् ???
कर्मचारीहरू काम चोर छन् ????
व्यवसायीहरू स्वार्थी छन् ?????
कसैले केही राम्रो कामै गरेनन् ??????
यस्ता गुनासा र भनाइ आफ्ना ठाउँमा जायज होलान्,
तर, हामीले हाम्रो आत्मसमिक्षा पनि त गर्नु जरुरी छ ।
किनकी ?
हामी आफ्नै लागि समृद्ध हुने काम गर्दैनौ भने अरुले हाम्रो लागि किन काम गरिदिने ???
सर्वप्रथम हामीले हाम्रो सोच्ने तरिका बदल्नु (Attitude Wash) पर्दछ । हामी जतिसुकै धनी भएपनि सोचाई गरीब छ भने हामी कहिल्यै समृद्ध बन्ने छैनौँ । हामीलाई जति भएपनि पैसाले पुग्दैन । जसरी भएपनि धेरै भन्दा धेरै सम्पत्ति थुपार्नु पर्छ । सकेसम्म सरकारलाई कर नतिर्ने, नसके पनि कम भन्दा कम कर तिर्नु छ । समाजमा देखासिकी गर्नुछ, सकेसम्म युरोप अमेरिका, नसके कुनै पनि देश, त्यो पनि नसके शहर पस्नु छ । सन्तानलाई माध्यमिक शिक्षा सक्ने बित्तिकै विदेश पठाउनु छ, सकेसम्म कुनै पनि काम चाहिं गर्न नपरोस्, सम्पत्ति चाहिं जसरी भएपनि हात परोस् यस्ता विद्यमान विकृत सोचाइमा धारणा बदल्न (Attitude Shift) जरुरी छ । सदैव सकारात्मक चिन्तन गर्नुपर्दछ । समाजको उज्यालो पाटो हेर्न सक्नु पर्दछ ।
पहिला कर्तव्य अनि मात्र अधिकार । व्यक्तिको कर्तव्य समाज प्रति, अनि मात्र समाजबाट अधिकार व्यक्तिप्रति अर्थात् व्यक्ति भन्दा समाज र समाज भन्दा देश सदैव माथि हुने सास्वत नियम हो । यदि देशको रक्षा गर्नैपर्ने अवस्था आयो भने समाज गौण हुन्छ र समाज बचाउनु छ भने व्यक्तिको अधिकार गौण हुन्छ । अत्यन्तै संकटको बेला आईप¥यो भने व्यक्ति आफू मरेर पनि समाज र समाज मरेर पनि देश बचाउनु पर्छ । ‘म’ त पशुले पनि भन्छ । आफ्नो जिविका त पशुले पनि चलाएको छ, आफ्नो परिवार त पशुले पनि हुर्काएको छ । हामी सामाजिक प्राणी हौँ । त्यसैले मेरो लागि होइन, हाम्रो लागि सोच्नु पर्दछ । हाम्रो लागि काम गर्नुपर्दछ । हाम्रो समाज समृद्ध भयो भने ‘म अवश्य समृद्ध हुन्छु’ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
मेरो नागरिक दायित्व के हो, व्यक्तिगत कर्तव्य के हो, सामाजिक दायित्व के हो ? त्यो कुरा पहिला महशुस हुनुपर्दछ । समृद्ध समाजका हरेक नागरिकले आ–आफ्ना अधिकार र कर्तव्यको सुन्दर समायोजन गर्न सक्नु पर्दछ । अरुले आफूसँग, आफ्नो परिवारसँग अनि आफ्नो समाजसँग कस्तो व्यवहार गरेको मन पर्छ अथवा आफ्नो के कस्तो अधिकारको सम्मान गरोस् जस्तो लाग्छ ! हो, आफूले पनि अरुको व्यक्तिगत, पारिवारिक र समाजप्रति त्यस्तै व्यवहार गर्नुपर्दछ । हामीलाई अरुले ‘बाटोमा अथवा जथाभावी फोहोर फ्याँकेको मन पर्छ र ? राति राति हो–हल्ला गरेको, ठूलो स्वरमा बाजा बजाएको मन पर्छ ? आफूलाई जिउ ज्यानमा खतरा गरेको अथवा हानी नोक्सानी गरेको मन पर्छ ? चोरी, डकैती, भ्रष्ट्राचार गरेको मन पर्छ ? अर्काको जग्गा जमिन, धन सम्पति थिचोमिचो गरेको मन पर्छ ? सार्वजनिक सम्पत्ति हिनामिना गरेको मन पर्छ ? सरकारलाई कर नतिरेको वा बदमासी गरेको मन पर्छ ? आफूलाई फरक व्यवहार गरेको अथवा हेपेको मन पर्छ ? अवश्य मन पर्दैनन् । यस्ता लाखौँ उदाहरण छन् जो अरुले गरेको आफूलाई बाधा महशुस हुन्छ र मन पर्दैन । आफूले पनि त्यस्तै काम ग¥र्यो भने अरुलाई पनि मन पर्दैन भन्ने सदैव सम्झनु पर्दछ । समाजका सबै सरह हुन सबैलाई मन लाग्छ, समाजका अन्य सदस्य सरह सामाजिक जीवन पाउनु अधिकार हो, त्यो खोजी गर्नुपर्दछ र आफूसरह अरुलाई अधिकार सुनिश्चित गरिदिनु अथवा अरुलाई सकेसम्म राम्रो गर्ने र नसके पनि नराम्रो नगर्ने प्रयत्न गर्नु व्यक्तिगत कर्तव्य हो । त्यस अर्थमा हरेक नागरिकले दिमाग र व्यवहार अभ्यस्त पार्न जरुरी छ ।
दोष अन्यत्र छैन, छ भने ‘तपाईं’ र ‘म’ मै छ । हाम्रो विपन्नताको कारण अरु कोही होइन, तपाईं र म नै हो । सबैभन्दा पहिले तपाईं र मैले आफ्नो सोच बदल्नु पर्छ । सोचाईको विपन्नता त्याग गर्नुपर्छ ।
आफ्नो लागि आफैँ जिम्मेवार बन्नै पर्छ । म र हामी मेरो र हाम्रो लागि आफैँ जिम्मेवार बन्नु पर्छ । हल्ला होइन, तथ्य भेट्नु पर्छ : विरोध होइन, सहयोग गर्नुपर्छ : प्रश्न होइन, उत्तर दिनुपर्छ :
समस्या खोज्ने होइन, समाधान दिनु पर्छ । म, हामी होइन हामी,
हाम्रो समाज र हाम्रो देश भनेर लाग्यौँ भने बन्छ
! ! सभ्य र सम्पन्न नेपाल ! !
पुस्तकका सन्दर्भमा अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराई भन्नछन् :

अष्ट ‘ज’ अभियान नेपाल अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव जगन्नाथ काफ्ले सामाजिक तथा विकास अभियन्ता हुनुहुन्छ । देशको हावापानी र माटोको व्यवसायिकरण गरेर समृद्ध नेपाल सृजना गर्ने आन्दोलनको रुपमा सन् २००८ मा अष्ट ज अभियान हामीले शुरुवात गरेका हौँ । प्रकृतिका ८ ‘ज’ मध्ये ‘छ ज’ कृषिमा र ‘२ ज’ उर्जा र वन पैदावारमा भएको र यिनको विकासमा एक अर्काको समन्वय गरेर मात्र अघि बढ्ने विचार सम्प्रेषण गर्दै आएको हौँ । यस शीलशीलामा हामीले देशका प्रथम राष्ट्रपति डा. रामवरण यादव, पुर्वराजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला, शुसिल कोइराला, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल र वर्तमान प्र.म खड्गप्रसाद ओली, वरिष्ठ वामनेताहरू मोहन बैद्य, चन्द्रप्रसाद गजुरेल, मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी हाल ‘राजपा’ का नेताहरू सर्वेन्द्रनाथ शुक्ला, राजेन्द्र महतो, तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे, लिलामणि पौडेल, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल, पत्रकार जगतमा कान्तिपुर दैनिकका कैलाश सिरोहिया, नागरिकका विनोद ज्ञवाली, राजधानीका महेन्द्र शेरचन, गोरखापत्रका तत्कालीन सम्पादक सीताराम अग्रहरि, समाचारपत्रका पुष्करलाल श्रेष्ठ, अन्नपूर्णका युवराज घिमिरे, कारोबारका शिशिर भट्ट लगायतलाई अकबरे खुर्सानी र फूलका विरुवा गमलामा रोपाएर देशको समृद्धी ‘अष्ट ज’ बाट मात्र सम्भव छ भन्ने सन्देश दिएका थियौँ ।
कृषिमा करिब १५ प्रतिशत र उर्जामा १५ प्रतिशत बजेट छुट्याउने र सो बजेट कार्यान्वयनमा ल्याउन ग्रामीण कृषि उत्पादनका नीति बनाएर लागू गर्ने तथा देशको प्रशासनीक खर्च घटाउने, अष्ट ‘ज’ सँग सम्बन्धित हालका मन्त्रालयहरू जस्तैः उर्जा, सिचाइ, भूमिसुधार, कृषि तथा पशुपंक्षी, वन, सहकारी तथा गरीबि निवारण, वातावरण तथा जनसंख्या, विज्ञान तथा प्रविधिलाई गाभेर ‘अष्ट ज समन्वय मन्त्रालय’ बनाउने तथा देशको चौतर्फी विकास अष्ट ‘ज’ को माध्यमबाट समन्वयात्मक अवधारणामा अगाडी बढाउने माग हामीले माथीका नेताहरू राजनैतिक, प्रशासनिक, पत्रकार तथा मेडिया हाउस दुवैलाई दिएका हौँ । यी कुरामा माथीका व्यक्तिहरू सहमत पनि हुनुभएको हो । तर त्यसलाई यहाँका माफियातन्त्रले व्यवहाररत अगाडी बढ्न आजसम्म पनि नदिएको हामीले ठहर गरेका छौँ ।
संघीय गणतन्त्र नेपाललाई समाजवादी गणतन्त्र नेपालमा स्त्तरवृद्धि गर्ने संविधानको लक्ष्य छ । त्यो लक्ष प्राप्ति गर्नका लागि ८ वटा ‘ज’ मा सरकार, दलहरू, नागरिक समाज, उद्यमी, किसान सबै उत्पादक र सरोकारवालाहरू लाग्नुको विकल्प छैन । अष्ट ‘ज’ ले स्वदेशमै पूँजी निर्माण गर्न सहकारी र कम्पनि सृजना गरेर जनताबाट शेयर उठाएर उत्पादनमुलक कार्यमा लगाउनु पर्दछ र त्यसबाट देशको कायापलट विकास गर्न सकिन्छ भन्ने धारणा राख्दै आएको छ । उदाहरणार्थ हाल कर्णाली विद्युत् आयोजना जुन संसारकै सस्तो आयोजनालाई नेपाल सरकारले भारतको जि.एम.आर कम्पनीलाई दिएको १० वर्ष भयो । जुन आजसम्म डि.पी.आर पनि उक्त कम्पनीले बनाएको छैन । त्यसमा पनि कर्णाली नदीको उक्त आयोजना वरपर हिउदमा ६ हजार मेगावाट र बर्षामा १०–१२ हजार मेगावाट विद्युत निस्कन्छ । उक्त सबै विद्युत निकाल्न ११० खरब रुपँैया लाग्ने अनुमान गरिएको छ । जस्तै नेपालभित्रको जनसंख्या ३ करोड र भारत लगायत विदेशमा रहेका प्रवासी नेपालीको संख्या २ करोड गरी ५ करोड यो विश्वमा नेपाली मुलका मानिस छन् । १ व्यक्ती बराबर न्यूनतम ५० हजार बराबरको शेयर बिक्री गर्दा ५०,०००८ ५,००,००,००० ।– बराबर दुईसय पचास खरब रुपैयाँ हुन्छ । जसले कर्णालीको १०००० (दशहजार) मेगावाट र अन्य नदीबाट १० हजार मेगावाट गरी २०,००० (हजार मेगावट) विद्युत ५ बर्ष भित्र निकाल्न सकिन्छ । यसले हाम्रो यातायातका साधनमा विद्युतीकरण गर्न सकिन्छ साथै ७५ जिल्लामा रोप वे र केवलकार निर्माण गरेर यातायात सञ्चालन गर्न सकिन्छ । विद्युतिय रेल पनि निर्माण गर्न सकिन्छ । यस्तो अनुपम दूरदृष्टि तिर नलागेर सरकार र दलहरू विदेशी पूँजी र शक्तीको मुख ताकेर गुजारिरहेका छन् । आज २१ सौ शताब्दीमा पनि नेपाल विश्वका कम विकसीत देश मध्येमै पर्दछ । गरिबी र शोषणको पराकाष्टा पनि बढ्दै गएको छ । यसलाई निराकरण गर्न हाम्रो संविधानले ३ तहका सरकारको कल्पना गरेको छ । जसमध्ये शक्तिशाली स्थानीय सरकारको कल्पना गरेर निर्वाचन भई सरकार गठन भइसकेको छ । यी स्थानीय सरकारले आफ्ना योजना बनाएर स्थानीय साधनस्रोत परिचालन गर्दै उत्पादन बढाउने र न्यायोचित वितरणको मार्गचित्र सहित यस ‘अष्ट ज’ अभियानका आइसीसी सचिव श्री जगन्नाथ काफ्लेजीले अबको २० बर्षभित्र गाउँपालिका र नगरपालिका कस्तो बनाउने कसरी उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, हाम्रो अथाह जलस्रोत, वनजंगल, खनिज, मानवस्रोतलाई कसरी परिचालीत गर्ने र नेपाललाई समृद्ध राष्ट्र कसरी बनाउने भन्ने मार्गचित्र सहितको विचार यो पुस्तकमा दिनुभएको छ । गाउँपालीका वा नगरपालिकाले अष्ट ‘ज’ जस्ता प्राकृतिक स्रोतलाई कसरी सञ्चालन, विकास र वितरण गर्ने, गाँउ तथा नगरको फोहोरबाट समेत उर्जा प्राप्त गरी उर्जाको झन बढी आपूर्ति गर्ने जस्ता कुरा पनि यस पुस्तकमा समेटिएका छन् ।
गाउँमै योजना बनाउने, डाटाबेसको विकास, उद्यमशीलता, विद्युतीय सुशासन, वित्तिय प्रबन्ध र व्यवस्थापन, मौलिक संस्कृति, प्राकृतिक स्रोत र लाभको वितरण, सामाजिक, साँस्कृतिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण जस्ता कुरा यो पुस्तकमा समेटिएका छन् । यसले हाम्रा ७५३ स्थानीय तह, ७ वटै प्रदेश र संघीय सरकार तथा अन्य सरकारी र गैरसरकारी संघसंस्थाको विकास प्रयासमा महत्वपूर्ण सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौँ ।
अन्त्यमा अष्ट ‘ज’ आन्दोलनलाई समृद्धिको महाअभियान बताउँदै राष्ट्र निर्माणको अति महत्वपूर्ण वर्तमान अभिभारामा जगन्नाथजीको यसमा प्रस्ततु विचार कोशेढुङगा सावित हुने कुरामा विश्वस्त छौँ ।
https://sansarnews.com/archives/124600
https://sansarnews.com/archives/133597
https://sansarnews.com/archives/134728
https://sansarnews.com/archives/136571
वि.सं.२०७५ फागुन ८ बुधवार ०८:२२ मा प्रकाशित






























