
१४ फागनु, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकोमा गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको छ ।
प्रवक्ता भुषण घिमिरेद्वारा जारी विज्ञप्तीमा हेलिकप्टर दुर्घटनामा सवार सबैको देहवसान भएको खबरबाट समस्त गैरआवासीय नेपाली संघ परिवार स्तब्ध भएको जनाइएको छ । विज्ञप्तीमा अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र एक होनहार युवा नेता गुमाएको उल्लेख गरिएको छ ।
दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारी, यति एयरलायन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ७ जनाको मृत्यु भएकोमा संघले गहिरो शोकसमेत व्यक्त गरेको छ ।
नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिने धिकारीसंग संघको गहिरो सम्बन्ध र सहकार्य रहेको जनाउँदै पर्यटन मन्त्रीको पद सम्हालेपछि नेपालको पर्यटन प्रबर्धनको लागि उनले नेपाल पहिचानको लागि गरेका पहलहरु संघका निम्ति चीरस्मरणीय रहने विज्ञप्तीमा उल्लेख छ ।
संघले दिवंगत आत्माको चिरशान्त्किो कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदन व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘यस दुखद घडीमा सबै गैरआवासीय नेपालीहरु र संघका तर्फबाट दिवगंत सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यसैगरी अधिकारी, शेर्पा लगायत दिवगंत हुनु भएको सबैको परिवारजनहरुमा यस शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसंग प्रार्थना गर्दछौं ।’
वि.सं.२०७५ फागुन १५ बुधवार २१:०६ मा प्रकाशित