back
CTIZAN AD

एउटी छोरीको आत्म-कथा

वि.सं.२०७५ फागुन २१ मंगलवार

1.4K 

shares

जसरी बाबाहरू लुटिन्थे भन्सारमा
र बेखर्ची बनेर फर्कन्थे घर !
जसरी दादाहरू लुटिन्थे बजारमा
र खाली हात आइपुग्थे घर !
हो त्यसै गरी लुटिएँ म पनि एकान्तमा
र घाइते बनेर आइपुगेकी छु घर !

लुटिएर फर्केको साँझ
बाबाको अनुहारमा हेरें
अहँ लज्जाको कुनै कथा थिएन
गोजी काटिएर फर्केको साँझ
दादाको आँखामा पनि हेरें मैले
त्यहाँ पनि हुतिहाराको कुनै हस्ताक्षर थिएन
जव म पनि लुटिएँ आज
मेरो दिलमा पनि वेइज्जतको कुनै बास छैन!

बाबाको झोलाबाट भन्सारमा
ममीलाई ल्याइदिएको सारी लुटियो
भाइबहिनीको गहना लुटियो
मलाई ल्याइदिएको कुर्ता सुरुवाल
र दादाको टि-शर्ट लुटियो
हाम्रो मुहारमा जून झुल्केको हेर्ने
मेरा बाबाको सुन्दर सपना लुटियो !

दादाको पकेटबाट बजारमा
आमाको औषधि लुटियो
भाइवैनीको चकलेट र
मेरो कपी कलम लुटियो
त्यहाँ पनि
हाम्रो अनुहारमा फूल फुलेको हेर्ने
मेरो दादाको फूलबारी लुटियो !

जति बेला म लुटिएँ
मसँग कुनै गहना थिएनन लुट्न
मसँग नोट नगद केही थिएन
म त खाली हात थिएँ
लुटेराहरू पनि अलि बेग्लै थिए
जीवनको पथबाट भड्किएका
हेर्दा डर लाग्दो अनुहार
तर टिठ पनि लाग्दो सोच भएका
ती पनि कसैका छोरा थिए
कसैका दादा थिए
हो तिनैबाट लुटिएँ म
कसैका दादाबाट
कसैका छोराबाट
कुनै एकान्तमा !

ती अभागी आमाका छोरा थिए
ती पीडित बहिनीका दादा थिए !

लुटिएपछिका साँझ
बाबा र दादाको अनुहारमा पढेको आगो
मेरो दिलमा पनि थियो सायद
त्यही भएर हुनु पर्छ
लुटिएर फर्केको आजको साँझ
मेरो मनमा पनि छैन
कुनै लज्जा बोध कुनै आत्म ग्लानी !

तेरो इज्जत लुटियो भन्छौ तिमी
म अहिले पनि सग्लै छु
लुटिनुअघि जे थियो मसँग
त्यो अहिले पनि छ

मेरो पनि प्रश्न छ तिमीसँग
इज्जत कसको जान्छ ?
मेरो या लुटेराको ?

लुट्नेलाई इज्जत गरेर
लुटिनेलाई इज्जत गयो भन्ने
तिम्रो वेइज्जति शास्त्रका च्यात्ने
म त एक योध्दा पो बनेकी छु !

कसैका छोराहरूलाई
कसले हालिदियो त्यो विषविचार
त्यो विचार नफालुन्जेल
तिनीहरू लुटेरा बनिरहने छन
म ती लुटेराहरूको
टिठ लाग्दो सोच संझिरहेकी छु !

अहँ म पटक्कै व्यक्तिगत चिन्तामा छैन
चिन्ता त यो छ-
ती टिठ लाग्दा आवाराहरूले
आफ्नो जिन्दगी कसरी धान्लान !

२०७५्र/११्र/१२
सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७५ फागुन २१ मंगलवार १५:४२ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...