
आगमी मे महिनामा हुन लागेको एनआरएनए अमेरिकाको निर्वाचनमा संस्थाको अध्यक्षका लागि विनोद कुमार तिवारीले उम्मेदवारी दिएका छन् ।
एनआरएनए अमेरिकाका प्रवक्ता समेत रहेका तिवारीले १४ बुँदे घोषणापत्र जारी गर्दै अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उक्त घोषणापत्रमा टिपियस, विद्यार्थी, खेलाडी, खेलकुद, एनआरएनएको वेवसाइट, एनआरएनए अमेरिकाको भवन, दोहोरो नागरिकताको, दोहोरो करको विषय, सामुहिक लगानीको अवसर, काउन्सीलरको कार्यालय स्थापना लगायतका १४ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।
घोषणापत्र
१–अमेरिकास्थित गैरआवासीय नेपालीको सुखःदुखमा साथ दिन अल्पकालिन र दीर्घकालिन योजना बनाएर कार्यक्रम गर्ने ।
क) टिपियस नविकरण गर्न सशक्त र प्रभावकारी ढंगले कार्यक्रम गर्ने ।
ख) विद्यार्थी, खेल, खेलाडी, भाषा–साहित्यको जर्गेना गर्दै यहाँ जन्मेका सन्ततिलाई भाषा, साहित्य, संस्कार सिकाउन विभिन्न कार्यक्रम ल्याउने, जसको लागि विभिन्न राज्यमा बनाउन सुरु गरेका सामुदायिक भवनलाई सहयोग गर्ने र अन्य राज्यमा समेत विस्तार गर्ने गरि स्थानीय संघ संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने ।
ग) प्रवासमा पनि हाम्रो देशको पपुलर खेलकुदको विस्तार गर्दै खेलाडि बर्गको समस्यामा एकाकार भै सहयोग गर्ने ।
घ) रोजगारीको खोजी गर्दै, सीप ज्ञान भएका, विशेषज्ञता हासिल गरेका वा कोरा जनसमुदायका लागि योजना सहित अघि बढ्ने ।
२– डिजीटल पात्रो वेवसाइटमा राखी हाम्रा अल्पकालिन र दीर्घकालिन योजना स्पष्ट देखिने गरी राख्ने । जसमा नेपालबाट अमेरिका आउँदा जान्नुपर्ने कुनैपनि आगन्तुकको जानकारीका लागि हावा पानी, मौसम, रोजगारीको अवसर, जीवनयापन, आर्थिक अवस्था, समस्या तथा जोखिम, राजनैतिक अवस्थाको यर्थाथ विवरण राख्ने ।
३–एनआरएनएले स्थापना गरेको हेल्प डेस्क र हेल्प लाइलाई अझ व्यवस्थित र विस्तार गर्ने ।
४–एनआरएनए एनसीसी अमेरिकाको वेवसाइटलाई अझ सुरक्षित, सुविधायुक्त, भरपर्दो बनाउन भएका कमि कमजोरीहरु पत्ता लगाइ समस्या समाधान गर्ने ।
५–दोहोरो नागरिकता र दोहोरो कर प्रणालीको अन्त्यका लागि नेपाल सरकारसँग सशक्त र मजबुत लविङ गर्ने ।
६–सामुहिक लगानीको अवसर जुटाउन नेपालमा लगानीको क्षेत्र छुट्याउन नेपाल सरकारसँग मिलेर योजना बनाइ यसको सुरक्षा र मुनाफाको प्रत्याभुति सहित योजना तयार गरी पब्लिक लिमिटेड मार्फत् लगानी गर्ने वातावरण बनाउने ।
७– नेपालीहरुको घनावस्ति भएको राज्य जुन न्यूयोर्क र वासिङटन डिसी आउन जान कठिन र लामो दूरी रहेका टेक्सास र क्यालिफोर्नियाको सनफ्रान्सिस्को सहरमा काउन्सीलरको कार्यालय स्थपना गरी नेपाल सरकारद्धारा प्रदान गरिने सरकारी कागजपत्र बनाउने, नयाँ राहदानी तथा नविकरण गर्ने, मन्जुरीनामा, वारेसनामा जस्ता अत्यावस्यक कामको व्यवस्थापन गर्न नेपाल सरकारसँग मिलेर काम गर्ने ।
८–युवावर्ग, महिला वर्ग र विद्यार्थीलाई एनआरएनएमा सहभागी गराउन अत्यावस्यक कार्यक्रम ल्याउने ।
९–एनआरएनएलाइ अझ व्यापक विस्तार गर्न निरन्तरता दिदैं भएका च्याप्टरलाई अझ सशक्त बनाउँदै अन्य राज्यहरुमा च्याप्टर गठन गर्न स्थानीय संघ संस्थासँग हातेमालो गर्दै एक अर्काको संस्थाको स्थापना उपादेयता र कार्यक्षेत्र, कार्यक्रमका बारेमा छलफल गर्दै निर्धारण गर्ने, जसको नेतृत्व र अधिकारी क्षेत्रिय उपाध्यक्षलाई दिदैं जिम्मेवारी प्रदान गर्ने ।
१०–सदस्य बन्न व्यापक जागरुकता र उत्प्रेरणा जगाउने, सदस्य बन्दा प्रयोग भएका व्यक्तिगत सूचनालाई अत्यन्त सुरक्षित रुपमा व्यवस्थापन गर्ने वा भविस्यमा अमेरिकी कानुन अनुसार भै आएको नोटरीलाई समेत मान्यता दिने व्यवस्था साधारणसभाबाट पारित गराउने ।
११–एनआरएनए परिचयपत्र प्रदान यथासक्य चाडो गरी, आजीबन सदस्यको ठेगाना वा अन्य सूचना परिवर्तन भए मात्र अपडेट गर्नुपर्ने अन्यथा स्वत ः आजीवन सदस्य वेवसाइटमा रहने व्यवस्था गर्ने ।
१२–सदस्यता निर्वाचन हुनु भन्दा २ महिना अघि मात्र बन्द गरी अन्य समयमा २४÷७ खुल्ला राख्ने व्यवस्था मिलाउने ।
१३–एनआरएनए केन्द्रीय कार्यालयको भवन सस्तो र सम्पूर्ण राज्यबाट आवत जावत गर्न सजिलो हुने राज्यमा बनाउने यथाशिघ्र काम सुरु गर्ने । उक्त भवनमा दान दिन चाहानेको इच्छा अनुसार छुट्टै भवन पनि बनाउन सकिने व्यवस्था गर्ने जसका कारण विभिन्न गतिबिधि र कार्यक्रम गर्न सहज हुन पुगोस् ।
१४–आकस्मिक कोषलाई अझ व्यापक र विस्तार गर्दै दान र अनुदानको लागि श्रोतको खोजी गर्ने कार्यक्रम बनाउने ।
वि.सं.२०७५ फागुन २१ मंगलवार १५:५५ मा प्रकाशित




























