
अरुहरूको कमजोरी सजिलै देखिन्छ, राम्रो काम गरेको भन्दा नराम्रो काम गरेको छिट्टै देखिन्छ । हामी आफूले चाहिं आफ्नो काम कर्तव्य कत्तिको पुरा गरेका छौँ ? समृद्धिको कामका लागि कत्तिको जिम्मेवार बनेका छौँ ? आफ्नै आत्मसमिक्षा गरेर नतिजा उन्मुख काम आफैँबाट शुरु गर्न जरुरी छ । वास्तवमै हामीले जे गर्नु पर्ने हो त्यो गरेका छैनौँ, त्यसैले हाम्रो परिवार, समाज र देश पछाडी परेको कुरामा कुनै सन्देह छैन । हो, हामी त हाम्रो राम्रोको लागि समृद्धिको काम गर्न लागि पर्दैनौँ भने अरुले त हाम्रो लागि किन गर्ने ? हो, अरु कसैले कहिल्यै केही गरिदिनेवाला छैनन् । चाहे दाता राष्ट्र हुन्, चाहे छिमेकी मुलुक हुन्, चाहे नेता हुन्, चाहे कर्मचारी या अरु कोही ! त्यसैले वास्तविकतामा हाम्रो गाउँ र नगर समृद्ध बनाउने हामी आफैँले नै हो । हो, त्यसैले आफ्नो परिवार, समाज, गाउँ, नगर र देश निर्माण गर्न अरुको बाटो कुरेर बस्नु हुँदैन । आफैँबाट शुरु गर्नुपर्दछ । आफैँबाट शुरु त गर्ने, तर कहाँबाट ? भन्ने प्रश्न आउँछ । आफैँबाट शुरु गर्नको निमित्त यहाँ निम्न बमोजिम २० वटा प्रस्तावहरूलाई अगाडी सारिएको छ ।

१. मिठो मिठो सपना देखौँ : दिमाग पूर्णरुपमा शुन्य राखी आँखा चिम्म गरौँ र सकारात्मक बनौँ (हदै सम्मको सकारात्मक विवेक प्रयोग गरौँ) र मिठो सपना बुनौँ ताकि आफ्नो गाउँ र नगर अति भन्दा अति सम्पन्न देखौँ । दिमागमा आएसम्म संसारको सम्पूर्ण सम्पन्नता आफ्नै देशमा देखौँ, आफ्नै गाउँ र नगरमा देखौँ, आफ्नै टोलमा देखौँ र आफ्नै घरमा देखौँ । सपना नदेखी कुनै पनि कुराले मुर्त रुप लिन सक्दैन । केही गर्ने हो भने पहिले त्यो कुरा दिमागमा लहडको रुपमा आउनु पर्छ । त्यो सपना हो, पहिले त्यो देखौँ अनि त्यस सपनालाई लक्ष्यमा उतार्ने उपाय खोजौँ ।
२. लक्ष्य निर्धारण गरौँ : ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ समृद्ध निर्माणमा देखेका सपनाहरूलाई साकार पार्न काम र व्यवहारिक पक्षलाई लक्ष्यमा बदल्नु पर्दछ । व्यवहारिक सम्भाव्यताहरूलाई प्राथमिकता अनुसार १, २, ३, ४, ….. जसरी संख्यात्मक लक्ष्य निर्धारण गरौँ ।
३. आफू निश्चित बनौँ र अठोट गरौँ : आफ्नो गाउँ र नगरमा केही त गर्न सक्छु भन्ने कुरामा आफू निश्चित बनौँ । आफ्नो समाज, गाउँ र नगर तथा शहर र देश बदल्न आफैँले अठोट गर्नुपर्छ । सामाजिक, आर्थिक र वातावरणीय रुपमा आफ्नो गाउँ र नगर आफैंले बस्न योग्य बनाउँछु भन्ने प्रण गरौँ । गाउँ र नगरमा आएको बजेट सही र पूर्ण सदुपयोग गराई उत्पादनमुलक क्रियाकलापमा लगाउँछु साथै आफ्नो गाउँ र नगर एकदिन समृद्ध बनाउने छु भन्ने कुरामा निश्चित बनौँ ।
४. अरुलाई भनौं : काम गर्न आजै र आफैँबाट सुरुवात गर्न जरुरी छ त्यसैले जसलाई उपर्युक्त देखिन्छ ऊसँगै आफ्नो प्रण बताऔँ । साथ दिन आग्रह गरौँ । एउटाले नमाने अर्कोलाई भनौँ, अर्कोले नमाने अर्कोलाई भनौँ, समृद्ध नेपालको सपना बताऔँ, आफ्नो सपना बताऔँ र आफ्नो जस्तै विवेकशील सोंच अरुहरूमा पनि जगाऔँ । कोही न कोही साथ दिने अवश्य पाईनेछ । ढिलो चाँडो राम्रो काम सबैलाई मन पर्छ ।
५. साथी खोजौँ : कुनै पनि काम एक्लैले गर्न सकिँदैन भने आफूलाई साथ दिने विवेकी मानिस आफैँले खोजौँ । साथी बनाऔँ, सुरुमा खिल्ली उडाउलान, विचलित बन्नुपर्ने कुनै कारण नै छैन, वास्तवमै विवेकशील बनौँ । विस्तारै साथी बन्नेछन् र बढ्नेछन् । यसैगरी आफूजस्तै कम्तिमा पाँचजना साँच्चै विकास अभियन्ता जम्मा भएर टीम बनाऔँ ।
६. प्रण गरौँ : आफ्नो गाउँ र नगरको पूर्ण विकसित स्वरुपको सपना बुनौँ । अनि सबैले प्रण गरौँ ‘म मेरो गाउँ र नगर पुस्तौँ पुस्तासम्म बस्न योग्य बनाउँछु’ किनकी यहाँ अरुकोही पनि आएर हाम्रो गाउँ र नगर बनाइदिने छैनन् । गर्ने मैले हो र हामीले नै बनाउँछौँ ।
७. सम्बन्ध बढाऔँ : गाउँ र नगरपालिकाका निर्वाचित प्रतिनिधि एवम् स्थानीय प्रशासन (कर्मचारी) र जनताको सम्बन्ध बलियो बनाऔँ । गाउँ, नगरपालिका र स्थानीय प्रशासनका कर्मचारीलाई साथी बनाऔँ । स्थानीय समाजका कुनै पनि सरोकारवालाहरूसँग सम्बन्ध बढाऔँ ।
८. स्थानीय प्रशासन संयन्त्र राम्रोसँग बुझौँ : स्थानीय प्रशासन संयन्त्रहरू आजसम्म के कसरी सञ्चालित छन् त्यो बुझौँ, अनि नयाँ नयाँ संरचनागत परिवर्तनको मर्म बुझौँ र आवश्यक पद्धति एवम् प्रक्रियाहरू बुझौँ । विद्यमान कार्यक्रमहरू, योजना, परियोजना, संयन्त्रबीच अन्तरसम्बन्ध राम्रोसँग केलाऔँ । विद्यमान अन्तर्राष्ट्रिय र स्थानीय विकासको गति र प्रक्रिया बुझौँ ।
९. जानकार बनौँ : समृद्ध नेपालको अभियानमा सामेल हुने हो भने कमसेकम हामीलाई सम्पूर्ण विषयवस्तुको सामान्य ज्ञान हुनुपर्छ । कसैले कुनै विधामा कुरा गर्दा हामी प्रसङ्गमा भिजेर कुरा गर्न र काम गर्न सक्षम हुनुपर्छ । कम्तिमा स्थानीय शासन ऐन, विभिन्न राज्य प्रणालीहरू तथा स्थानीय शासन प्रणाली र सम्बन्धित कानुनी प्रावधानहरू बुझेको हुनैपर्छ । हाम्रो देशको हकमा संघीय शासन प्रणाली अन्तर्गत केन्द्र, प्रदेश र स्थानीय सरकार सञ्चालन प्रणालीबारे राम्रोसँग जानकार हुनु अनिवार्य हुन्छ । यसैगरी हरेक विद्यमान समसामयिक घटनाक्रमहरूसँग समेत हामी अद्यावधिक रहनु अनिवार्य हुन्छ ।
१०. सहि र गलत छुट्याऔँ : समाजमा के के हँुदैछन् प्रष्टसँग बुझौँ । के के सही छन् ? के के गलत छन् ? सहिको पक्षमा उभिऔँ । कसैले नराम्रो काम गरेको छ भने त्यसको विरोध गर्ने सट्टा सुधार गरी राम्रो काम गर्ने (काम) को तारिफ साथै उसलाई उत्प्रेरणा दिने अनि राम्रो काममा सहयोग गर्ने कुरामा आफूलाई अभ्यस्त बनाऔँ ।
११. दूरदर्शी बनौँ : कुनै काम गर्दा अल्पकालीन राम्रो जस्तो लागे पनि दीर्घकालीन नकारात्मक प्रभाव पर्न सक्ने हुन सक्छन् अर्थात् आज कुनै काम अप्रिय लाग्न सक्छन् तर दीर्घकालमा सकारात्मक प्रभाव पार्छ भने त्यसलाई जोड दिऔँ । व्यक्तिलाई भन्दा समाजलाई जोड दिऔँ र दुरदर्शी बनौँ ।
१२. महत्वकांक्षी बनौँ : संसारले जति पनि उपलब्धि पाएको छ, तिनीहरू यथास्थितिवादी सोचले आएको विल्कुल होइन । मानिसको चन्द्रमामा पुग्ने सोच सफल भएको छ । हामीले कल्पनै गर्न नसक्ने उपलब्धि संसारमा प्राप्त भैसकेका छन् । सिर्जनात्मक सोच र महत्वकांक्षी कार्यबाट मात्र परिवर्तन सम्भव हुन्छ । त्यसैले सोचाई पृथक र फराकिलो बनाऔँ । केही महत्वकांक्षी बनौँ । हामीले सोच जति फराकिलो बनाउछौँ, विकासको आधार त्यति नै फराकिलो हुनेछ ।
१३. बहस चलाऔँ : आफ्नो गाउँ र नगर समृद्ध बनाउन आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक तथा वातावरणीय क्षेत्रमा के कस्ता सवल तथा दुर्बल पक्षहरू छन् साथै के कस्ता अवसर, चुनौती छन्, बहस गरौँ । सवल पक्षलाई पूर्ण गर्दै अवसर हासिल गर्ने तथा चुनौतिहरूको सामनाका साथ कमजोर पक्षलाई न्यूनीकरण गर्न अभियानात्मक बहस चलाऔँ ।
१४. नेतृत्व लिऔँ दिऔँ : आफ्नो जुन पक्ष सबल छ त्यसमा मात्र आफलेु नेतृत्व लिऔँ । सबैमा होइन । अनि अरु जो जो जुन जुन पक्षमा सवल हुन्छन् त्यो त्यो पक्षको नेतृत्व लिन अलग–अलग साथी र सहकर्मीलाई प्रोत्साहित गर्दै जाऔँ । सहि ठाउँमा, सही नेतृत्व, सही व्यक्तिले लिऔँ ।
१५. नतिजा आउने काम गरौँ : अबको समाज न त परम्परागत हिसाबको कोरा सिद्धान्त र आदर्शले चल्छ न त कुनै भाषणले नै । जब नतिजा आउने काम गरेर प्रमाणित हुन्छ तब मात्र आमसर्वसाधारण र सरोकारवालाहरूले त्यसको प्रतिफल पाउन सक्छन । काम गरेरै प्रमाणित गरौँ ।
१६. अनुशासित बनौँ :आफू नै अनुशासित र पारदर्शी नभई अरुलाई अनुशासित बनाउन सकिन्न । हाम्रो समाजमा आर्थिक अनुशासन ठूलो चुनौतीको विषय बनेको छ । आफ्नो समाज भित्र सामाजिक र आर्थिक अनुशासन कायम गराउन आफू अत्यन्तै अनुशासित बन्न जरुरी छ र बनौँ पनि ।
१७. सहयोगी बनौँ : संसारका हरेक तत्वहरू कुनै न कुनै रुपमा एक अर्कामा पुरक रहेका हुन्छन् अर्थात् एक अर्काको सहयोगमा नै अस्तित्वमा अडेका हुन्छन् । हामी मानव जाति त झनै स्वभावैले सामाजिक एवम् एक अर्काको सहयोगबाट चलेका हुन्छौँ । हाम्रा हरेक काम गर्न आफूलाई अरुको सहयोग चाहिन्छ भने आफू पनि समाजका हरेक सहकर्मी र छिमेकीप्रति सहयोगी बनौँ । सहकार्यको संस्कृति निर्माण गर्न आफूलाई अभ्यस्त बनाऔँ ।
१८. साझेदारी गरौँ : एक्लै कुनै पनि काम गर्न सकिन्छ भने राम्रो, तर सबै काम एक्लै गर्न सकिँदैन । त्यसैले साझेदारी संस्कारलाई स्थापित गरौँ । सहअस्तित्व समृद्ध समाजको विशेषता हो । कुनै पनि अधिकार तथा कर्तव्यलाई साझेदारी गरौँ । कुनै पनि काम, दायित्व र प्रतिफललाई विभाजन गरौँ ।
१९. सकारात्मक सोच राखौं : आधा पानी भएको गीलासलाई हामी आधा खाली देख्छौँ कि आधा भरी ? हाम्रो नेपाली समाजमा अरुको कमि कमजोरी र आलोचनामा रमाउने एक किसिमको संस्कार बसालेको छौँ । ध्रुवसत्य पक्ष चाहिं के हो भने हरेक तत्व र तथ्यको सकारात्मक र नकरात्मक दुई पाटो रहेको हुन्छ । त्यस्तै हाम्रो सोचाईको पनि सकारात्मक र नकरात्मक दुई वटा नै पाटाहरू हुन्छन् । आफू र समाजमा सकारात्मक उर्जा निर्माण गर्न हाम्रो सोच पनि सकारात्मक नै हुन जरुरी छ ।
२०. राजनीतिलाई सेवामा रुपान्तरण गरौँ : राजनीति पेशा र खेती होइन र जिविकाको माध्यम पनि होइन, बरु समाजसेवा हो । कुनै पनि राजनैतिक अभ्यासकर्ताहरूले शिक्षण, उद्यमशीलता, सहकारिता र व्यवसायिक अथवा सामाजिक उद्यमशीलताको माध्यमद्वारा दैनिक जीवन या पारिवारिक जीवनयापनको प्रबन्ध गरौँ । गुजाराको हकमा सबैले निश्चित घण्टा काम गर्नै पर्दछ र गरौँ । परिवार सञ्चालनका निमित्त गर्ने काम (व्यवसायिकता) लाई राजनीतिबाट पृथक राख्नुपर्छ र पृथक नै राखौँ ।
समृद्ध नेपाल निर्माणको लागि आजैबाट आफैंबाट
यसरी शुरु गर्नुपर्दछ,अरुको बाटो कुर्नु हुँदैन । क्रमशः

https://sansarnews.com/archives/133597
https://sansarnews.com/archives/134728
https://sansarnews.com/archives/136571
https://sansarnews.com/archives/139075
वि.सं.२०७५ फागुन २३ बिहीवार १३:३३ मा प्रकाशित






























