
प्रजातन्त्रमा राजनीतिक दलको भूमिका सबभन्दा महत्वपूर्ण मानिन्छ । अझ भन्ने हो भने त राजनीतिक दल बिनाको प्रजातान्त्रिक व्यवस्थाको कल्पनानै गर्न सकिदैन । विश्वमा देखिएको पनि के छ भने जुन देशका राजनीतिक दलहरु भविष्य द्रष्टा र व्यवस्थित छन् त्यहाँ प्रजातान्त्रिक व्यवस्था झांगिने र फष्टाउने गरेको पाइएको छ । यसले के भन्न सकिन्छ भने राजनीतिक दल र प्रजातान्त्रिक व्यवस्था एक अर्काका पुरक हुन् ।
जुन देश राजनीतिक दलहरुले त्यहाँको व्यवस्थालाई प्रत्यक्ष जनताको जीवन पद्धतीसँग जोड्न सकेका छन् ति देश समृद्ध भएका छन् । व्यवस्था मजबुत भएको छ । जहाँको नेतृत्वले व्यवस्थालाई आफ्नो स्वार्थ पुर्ती गर्ने औजार बनाएका छन् । त्यहाँ राजनीतिक अस्थिरता मात्रै देखिएको छ ।
नेपालको परीपे्रक्षमा पनि २००४ देखि २०७२ सम्म अनेक किसीमका परिवर्तनहरु देखिएका छन् । सात–सातवटा संबिधान त हामीले ६८ वर्षको दौरानमा बनाइसकेका छौ । नेपाली कांग्रेस जस्तो पुँजिवादी पार्टीदेखि नेकपा जस्तो समाजवादी पार्टीको सत्ताबाट नेपाली जनता शासित भएका छौ । र पनि यो बिचमा जनतामा राजनीतिक दल र संसदीय व्यवस्था प्रति अझै पूर्ण भरोसा रहेको पाइदैन । त्यसैले अत्यन्तै छोटो समयमा यहाँ व्यवस्था परीवर्तन भएका छन् ।
अझ पछिल्लो समयमा नेपालका राजनैतिक दलहरुको व्यवस्थापन र सञ्चालनले त जनतामा निरासा मात्रै बढाएको छ । स्वयँ राजनीतिक दलका कार्यकर्ताहरु समेत आफू संलग्न पार्टीसँग आस्वस्त हुन सकेका छैनन् । पार्टीगत जिम्मेवारीमा हुने विभेद, राज्यसत्तामा कार्यकर्ताहरुको पहुँचमा हुने विभेद मात्रै होइन, पार्टीहरु क्रमश : व्यक्तिवादी बन्दै जाँदा कार्यकर्ता निरास हुनु स्वभाविक हो ।
नेपालमा इतिहासमै सबैभन्दा शक्तीशाली पार्टी सत्तामा छ । देशकै सबैभन्दा पुूरानो मध्येको पार्टी मुख्य विपक्षी बेन्चमा बसेको छ । आन्दोलनको रापबाट जन्मिएका राजनीतिक दलहरुले राष्ट्रीय पार्टीको मान्यता पाएका छन् । तर राजनीतिक गतीविधी शुन्य प्राय देखिन्छ ।
नियतीको नौकामा नेकपा
नेपालको इतिहासमै आजसम्मको सबभन्दा शक्तीशाली पार्टी हो, नेपाल कम्युनिष्ट पार्टी । तर त्यहि पार्टी अहिले वडादेखि केन्द्रसम्म जग हसाँईको पात्र बनेको छ । दुइ ठुला बामदलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गत जेठ ३ बाट अस्तित्वमा आएको नेकपा अहिले तदर्थवादमा चलेको छ । एकतापछि बनेको केन्द्रीय समितिका सबै सदस्यहरु जिम्मेवारीबिहिन छन् । विभाग गठनको कुनै तदारुकता देखिदैन । हिजो जन–जन सम्म पुग्ने हैसीयत राख्ने कार्यकर्ता अहिले काम बिहिन छन् । केन्द्रीय समितिको बैठक एकता पछि एकपटक बाहेक बस्न सकेको छैन ।
मानौ नेकपा एउटा यस्तो नौका हो जुन समुन्द्रमा हावाको बेगसँग यता र उता हल्लीरहेको छ । उसको पुग्नु पर्ने कुनै लक्ष छैन । मानौ नेकपा अहिले दुर्नियतिको नौका जस्तै बनेको छ । पार्टीभित्र गुटहरुको चलखेल बाहेक अन्य गतीविधि भएकै छैनन् । गुटहरुले आफ्नो स्वार्थ अनुकुलका गतीविधि गरिरहेका छन् । यसरी हेर्दा त लाग्छ नेकपाभित्र न जनवाद व्यवस्थीत छ न केन्द्रीयताको व्यवस्थापन उचित तरीकाले भएको छ । अर्थात पार्टी चलेको छैन गुटहरुमात्रै चलेका छन् ।
किचलोमा कांग्रेस
महासमितिले पारीत गरेको प्रस्ताव उल्टाउने केन्द्रीय समितिको निर्णय पछि नेपाली कांग्रेस अहिले किचलोमा फसेको छ । फागुन १४ मा इतर समुहको बैठक चाक्सीबारीमा बसेपछि सभापति शेरबहादुर देउवा पनि नयाँ रणनीतिको तयारीमा छन् । त्यसैले उनले फागुन ३० मा आफु पक्षीय नेताहरुको बैठक बोलाए ।
नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सीटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोइराला परीवार एकै ठाउँ आउँदा देउवा झस्कीनु स्वभावीक हो । यही झस्काईले देउवाले पार्टीका अन्य गतीविधीहरुमा ध्यान दिन सकिरहेका छैनन् । सभापति भएर सर्वमान्य हुनुपर्नेमा देउवा गुट भन्दा माथि उठ्न सकेका छैनन् । बरु पार्टी किचलोमा फसिरहँदा पनि देउवाले विकल्प दिन नसक्दा पार्टी भित्र निरासा छाएको छ । गाउँदेखि केन्द्रसम्म विभाजित मानसीकताका कारण कांग्रेसकार्यकर्ताहरु निरास देखिन्छन् ।
दलजस्तै छैनन् अन्यदल
नेकपा र नेपाली कांग्रेस बाहेक अन्य राष्ट्रिय राजनीतिक दलहरु पार्टी भन्दा बढी प्राइभेट लिमिटेड कम्पनी जस्ता छन् । तिनीहरुमा राजनीतिक संस्कारको कमी छ । यस कारण यी दलहरुले राष्ट्रिय प्रभाव पार्न सकिरहेका छैनन् ।
र अन्त्यमा
राजनीतिक दलहरुको यही अव्यवस्थाको फाइदा केहि गैरराजनीतिक व्यक्ति र समुहहरु उठाउने प्रयास गरीरहेका छन् । यो अवस्था हामीले अवलम्बन गरेको संसदीय प्रजातान्त्रिक व्यवस्थाका लागि कुनै कोणबाट पनि हितकर हुँदैन । यसकारण नेकपा र नेपाली कांग्रेसले आफुभित्रको किचलोलाई समयमै व्यवस्थापन गरेर पार्टीलाई जनतासँग र जनतालाई समृद्धीसँग जोड्न ढिला नगरुन । रात रहे अग्राख पलाउँछ भने झै नेकपा र नेपाली कांग्रेसले जनतासँग जोडिनु जती ढिला गर्छन त्यति नै व्यवस्थाप्रति नै जनताको वितृष्णा बढ्दै जान्छ । जुन स्वयँ राजनीतिक दलका लागि पनि हितकार हुदैन् ।
वि.सं.२०७५ चैत ३ आइतवार १३:४६ मा प्रकाशित





























