
आयो फाल्गुन पूर्णिमा विविधता हाम्रो छ संस्कारको ।
नेपाली जनको छ शुद्ध दिल यो सम्मान सत्कारको ।
होली शब्द र फागु शब्द जनमा उत्साहका वन्दना ।
यौटै हुन् रङको महोत्सव यहाँ आतत्मीय सद्भावना ।
१
मैत्रीभावसँगै अनेक रङका होली सबै खेल्दछन् ।
नाच्दै रङ्ग दलेर आपस यहाँ श्रद्धा सधैं राख्दछन् ।
हाम्रो देश विशेष चाड सबमा पूजा र अवस्थासँगै ।
माया प्रेम विचार उच्च रहने विश्वास बढ्छन् झनै ।
२
होलीका र छ पूतना कुटिलका उल्लेख के गर्नु त्यो ।
भन्छन् पूर्वज राक्षसी असुर रे चिन्ता थियो धेरको ।
राजा दुष्ट हिरण्यकश्यप जहाँ जो दैत्य क्रोधी थिए ।
छोरा ईश्वरभक्त पूर्ण भवमा जो दिव्य ज्ञानी थिए ।
३
फुल्दा फूल वसन्त आगमनको होलीसँगै फुल्दछ ।
चिन्ता मुक्त भएर आज हँसिलो मान्छे यहाँ घुल्दछ ।
हर्षोल्लास बढ्यो उमङ्ग जनमा रङ्गीन भो जीवन ।
होलीको रसरङ्ग उत्सवसँगै आनन्द हुन्छन् मन ।
४
भुल्दै संस्कृति आज देशभरमा देखावटी चल्दछन् ।
होलीको बदनाम गर्न जसरी बेढंगले खेल्दछन् ।
इन्द्रेणी रङ भर्छ हर्ष मनमा गर्दै गरे साधना ।
होली सत्य समाज हो विजयको सत्मार्गको कामना ।
५
धन्यवाद
कविता : होली (फागु)
छन्द : शार्दुलविक्रीडित
रचनाकार : नमराज लामिछाने
ठेगना : नुवाकोट रकाठमाडौ
हाल : रियाद साउदी अरब
वि.सं.२०७५ चैत ६ बुधवार २०:३४ मा प्रकाशित






























