
राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तराईको भुमीलाई स्वतन्त्र राष्ट्रको संज्ञा दिदै विभिन्न गतिविधि गरीरहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धन पुराना सबै मान्यताहरुलाई तिलान्जली दिदै नयाँ लोकतान्त्रीक दलको रुपमा स्थापीत हुने प्रयासमा छ । स्वतन्त्र मधेश गठबन्धन सँग सरकारले गरेको सहमति सँग चित्त बुझाउन नसकेको राजपा महाधिवेशनको चटारोमा समेत छ । आज हामीले यिनै विषयमा राजपाका अध्यक्ष मण्डलका एकजना सदस्य अनिल झा सँग कुराकानी गरेका छौ ।
आजकल के मा व्यस्त हुनुहुन्छ ?
महाधिवेशन लागेको छ । महाधिवेशनको तयारीमा गाउँ देहात घुमीरहेको छु । पार्टी कार्यकर्ता र आम मतदाता सँग अन्र्तक्रियामा छु । पार्टीको संगठन निर्माण गर्न, मतदाताका दुख सुख सँग साक्षत्कार गर्न करीब १८ कि.मी को यात्रा आज बिहान भरीमा गरीसके ।
महाधिवेशनको तयारी कस्तो चल्दैछ ?
तोकिएकै समयमा महाधिवेशन गर्ने तयारी तिव्र चलिरहेको छ । म पनि तोकीएकै समयमा महाधिवेशन होस भनेरै गाउँ देहात घुमीरहेको छु । पार्टीले पनि अर्को कुनै नयाँ निर्णय गरेको छैन । तर महाधिवेशनको तयारी भने पुर्ण रफ्तारमा भए जस्तो मलाई लागेको छैन । हाम्रो तयारीको गती अलि सुस्त नै छ ।
तोकिएको समयमानै महाधिवेशन होला ?
नयाँ निर्णयहरु केहि नभएकाले मैले के बुझेको छु भने ,महाधिवेशन समयमै हुन्छ । समय अझै प्रसस्तै छ । हामीे कम्मर कसेर लाग्यौ भने– महाधिवेशन तोकीएकै मीतीमा सम्भव छ । यसका लागि आजबाटै साधारण सदस्यता वितरण गर्ने देखि सक्रिय सदस्यहरुको छनोट वडा सम्मेलन, पालीकास्तरीय अधिवेशन गर्न थाली हाल्नु पर्छ ।
देश नयाँ संरचनामा गएकोले हामीले पनि वीगतका हाम्रा संगठन संरचनाहरुमा परीवर्तन आवश्यक छ । वडा, पालीका, प्रदेश संसदीय क्षेत्रीय समिति,संघीय क्षेत्रीय समिति र जिल्ला समिति हुदै प्रदेश र केन्द्रीय समिति निर्माणको प्रक्रिया आजैबाट थाल्न जरुरी छ ।
आगामी महाधिवेशनपछि पनि पार्टी संगठन अहिले जस्तै अध्यक्ष मण्डल निर्देशित हुन्छ कि संरचनामा परीवर्तन हुन्छ ?
हामी अझै केन्द्रीय कमिटिको विषयमा निष्कर्षमा पुगीसकेका छैनौ । तर जिल्ला कमिटि लगायतका तल्ला कमिटि भने एकल अध्यक्ष रहने गरी निर्माण हुनेछन् । यसको निर्वाचन प्रक्रिया सक्रिय सदस्यहरुले आफु मध्येबाट वडा कमिटि बनाउँछन् । वडा बाट छानीएका प्रतिनिधिले पालीकाका कमिटि बनाउँछन् । यसै गरी विभिन्न चरणमा छानीएका प्रतिनिधिले प्रदेश क्षेत्रीय समिति हुदै संघीय क्षेत्रीय समिति र जिल्ला समिति हुदै हाम्रा संगठन र कमिटिहरुको निर्माण हुन्छ ।
प्रसंङ्ग बदलौ, सिके राउत मुलधारमा आउँदा तराई केन्द्रीत दलहरुमा त एक कीसीमको झड्का लागे जस्तो तरङ्ग आयोनी ?
यस्तो केहि होइन, हामीले त स्वागत नै गरेका छौ । हिजोको उनका पब्लिक अडिट हेर्र्नेे हो भने त परीणाम कस्तो आउछ सबैलाई थाहा छ ।
तर हिजो त्यस्ता विचार राख्नेहरु पनि बद्लिएर लोकतान्त्रीक विधि र प्रक्रियामा सहमत भए भने यो त राम्रै भयो । त्यसमाथि कुनै समय राष्ट्र नै टुक्राउछु भन्नेहरु राष्टिय« मुलधारमा आउनु स्वागत योग्य कुरा हो ।
सिके राउत मुलधारमा आएसँगै तपाइहरुका प्रतिस्पर्धी बढे त ?
मलाई त त्यस्तो लाग्दैन । हामी अझै सानो पार्टी नै छौ । मधेशको दुइतिहाइ मत त नेकपा र नेपाली कांग्रेस सँगै छ । हामी त उनलाई जनअनुमोदीत भएर आउन भनेरै चुनौती दिन्छौ ।
अर्को प्रसङ्ग, सरकारलाई दिदै आएको समर्थन फिर्ता लिनु भयो, अब अगाडी के गर्नुहुन्छ ?
सबभन्दा पहिला हाम्रो तर्फ बाट सरकारलाई सुभेक्षा छ । यो सरकारले राम्रो काम गरोस । हामीले अवलम्बन गरेको व्यवस्थामा पार्टीहरु सरकार वा विपक्षमा हुने कुरा स्वभावीक हो ।
“बजेट खर्च जम्मा १४ प्रतिशत गरेको सरकारलाई मैले १४ नम्बर थपेर २८ पुर्याउदा पनि फेल नै भएको छ । मैले यो सरकारलाई १४ नम्बर गे्रस थपेर २८ नम्बर मात्रै दिन्छु । ”
सरकारको काम कारबाहीलाई कसरी नियाली रहनु भएको छ ?
मेरो दृष्टिकोणमा त सरकार असफल भइसकेको छ । आफैले निर्माण गरेको बजेटमा घोषणा गरेका कार्यक्रम राम्ररी सन्चालन गर्न सकिरहेको छैन ।
बजेट खर्च जम्मा १४ प्रतिशत गरेको सरकारलाई मैले १४ नम्बर थपेर २८ पुर्याउदा पनि फेल नै भएको छ । मैले यो सरकारलाई १४ नम्बर गे्रस थपेर २८ नम्बर मात्रै दिन्छु ।
र अन्त्यमा तपाइहरुलाई मैदान छोडेर पहाडमा उक्लिन नसकेको आरोप छ नी ! के पहाड चढ्न नसकेकै हो ?
हामी मात्रै होइन समग्र मधेशी नै तपाईले भने जस्तो राष्ट्रिय बन्न सकेका छैनौ । हामी त साना पार्टी भयौँ, ठुलो पार्टीमा रहेका मधेशी मुलका मानिसहरु पनि देशको प्रधानमन्त्री बन्न सक्नु भएको छैन । राष्ट्रपतिमा हार्ने डरले मात्रै मधेशी मुलका व्यक्तिलाई टिकट दिइएको थियो ।
समग्र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म हामी पहाड उक्लिन सक्दैनौ । हिजो केहि समय सर्वदलिय समितिमा रहने लोभले पहाडका केहि साथीहरु हाम्रो पार्टीमा प्रवेश गरेपनि परिणाम अपेक्षित बन्न सकेन । गत निर्वाचनमा सयौ कार्यकर्ता भएका ठाउँबाट हामीलाई एउटै मत समेत आएन । त्यसैले हाम्रो प्रवृतिमा परिवर्तन नआएसम्म हामी पहाड उक्लिन सक्दैनौ ।
वि.सं.२०७५ चैत १० आइतवार १२:२५ मा प्रकाशित






























