
२२ बैशाख, काठमाडौं । खुलामन्च अतिक्रमण प्रकरण अहिले केही मत्थर जस्तो देखिदैंछ ।
पुरानो बासपार्कमा बन्न लागेको काठमाडौं भ्यु टावर निर्माण कम्पनीले अतिक्रमण गरेको भनिएको खुल्ला मन्चका टहराहरु भत्काइएसँगै सबै समस्याको समाधान भएजसरी विषय स्थान्तरण हुँदै गएको अनुमान गर्न सकिन्छ ।
काठमाण्डौं भ्युटावर निर्माण गर्ने इनोभेटिभ कन्सेप्ट प्रा.लि विगत लामो समय देखि विवादीत निर्माण कम्पनी हो । तर, काठमाण्डौं महानगरका महत्वपूर्ण र आम्दानीमुलक निर्माण भने सोहि कम्पनीले नै पाउदै आएको छ । काठमाण्डौं महानगरपालिकाका प्रमुख केशव स्थापित नेतृत्वमा रहँदा ०५७ कार्तिक १ मा सुरु सम्झौता भएयता नेतृत्व जति परिवर्तन भएपनि आकासे पुल निर्माण र सञ्चालन, काठमाण्डौं अफ भ्युटावर निर्माण र सञ्चालनको जिम्मा मनोज भेटवालको कम्पनीले पाइराखेको देखिन्छ ।
०५७ साल यता स्थापीत र वर्तमान नगरपीता विद्या सुन्दर शाक्य जननिर्वाचित प्रतिनिधि हुन् । विचमा मोहन श्रेष्ठ पनि राजाले सम्पन्न गरेको निर्वाचनबाट निर्वाचित नगरप्रमुख भएका थिए । जनप्रतिनिधि बाहेक सरकारी उच्च ओहदाका कर्मचारीबाट पनि महानगर लामै समय सञ्चालित भयो । हालका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, गणेश राई, रुद्र सिंह तामाङ,आनन्द राज पोखरेल, यादव कोइराला लगायतका उच्च पदस्थ कर्मचारीहरुले पनि महानगर हाँकीसकेको छन् । यी नेतृत्वमा जो आए पनि सबैका प्रिय भेटवाल नै भएको पाइन्छ ।
भेटवाल यसरी पाउँछन् ठेक्का
स्थापित नगर प्रमुख भएको समयमा काठमाण्डौं महानगरको ठेक्का प्रणालीभित्र छिरेका भेटवाल १९ वर्षदेखि निरन्तर सोहि ठेक्का प्रणालीमै छन् । ०५७ कार्तिकमा कामनपाको आकासे पुल सञ्चालनो ठेक्का भेटवालले पाएका थिए । त्यसपछि भेटवाल आफै आकासे पूल निर्माणमा लागे । पछिल्लो समय काठमाण्डौं भ्यु टावर जस्तो ‘ड्रिम प्रोजेक्टमा’ समेत भेटवाल नै छानिए ।
यस्तो कसरी भए होला ?
हामी सम्बन्धीत पक्षहरुसँग पस्यौं । निजी सरकारी साझेदारीमा निर्माण हुने यस्तो संरचनाहरुको सन्चालन ठिक तरिकाले नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतले समेत समय–समायमा चासो व्यक्त गरेको पाइन्छ । तर पनि आकासे पूल र टावर निर्माण भेटवालले नै पाउने गरेका छन् ।
पछिल्लो पटक हालका सामान्य प्रशासन सचिव यादव कोइराला महानगरको कार्यकारी प्रमुख रहेकै सयममा महानगर प्रहरीका प्रहरी नायव उपरीक्षक धनपती सापकोटाले खुल्ला मन्चका टहरा भत्काउन खोज्दा कोइरालाले रोकेको महानगरका कर्मचारीहरु बताउँछन् । ति टहरा भत्काउन रोक्नका लागि १ करोड ५० लाख रुपैयाँ भेटवालले खर्च गरेको महानगरका कर्मचारीहरुले संसारन्युजलाई बताए ।
पछिल्लो पटक खुल्ला मन्चका टहरा भत्काउन सिधै प्रधानमन्त्रीको तहबाट आदेश आउनु र महानगरका प्रमुख, उपप्रमुख मौन बस्नुले पनि कहिकतै चलखेल थियो भन्ने बुझ्न सकिन्छ । अझ मुद्दा पेचिलो बनेको समयमा कार्यकारीले सरुवा मागेर शक्तिशाली मन्त्रालय पाउनु पनि ‘दालमे कुछ काला हे’ भन्न सकिन्छ ।
हाल भूमिगत रहेको भनिएका भेटवालले पनि ठेक्का हात पार्न प्रतिशतको खेल नखेली नहुने बताएका छन् ।
टावर वा आकासे पुल निर्माणमा पनि आपूले निश्चित प्रतिशत सम्बन्धीत तहमा पुर्याएको भेटवालको दावी छ । केही सकारात्मक भेटवाल विवादीत व्यक्ति हुन् । खुल्ला मन्चमा उनले विभिन्न बहानामा कब्जा गरेकै छन् । यसका पछाडि भेटवाल मात्रै थिए । त्यो सम्भव छैन । कार्यकारी रुद्र सिंह तामाङ रहेको समयमा खुल्ला मन्चमा व्यापारीलाई हस्तान्तरण गरिएको थियो । यता ३० वर्षे परियोजनाको रुपमा रहेको भ्यु टावरका बाइ प्रोडक्टको रुपमा मात्रै खुल्ला मन्च प्रकरण आएको हो ।
काठमाण्डौं भ्यु टावरमा १ अर्ब ४० करोड खर्च भइसकेको छ । मुख्य आधार तयार भइसकेको भेटवालको दावी छ । काठमाण्डौ तीन तले पार्किङको सबै संरचना बनिसकेको छ । यसमाथि स्टील फर्निसिङ मात्रै बाँकी रहेको छ ।
हालसम्म भ्यू टावरको अण्डरग्राउण्ड ३५ फिट कंक्रिट वालको काम सकिएको छ । जसमा वरिपरीबाट पिल्लर वाल लगाएर दायाँ बायाँका घर भत्किनबाट रोकिसकिएको छ । अब भारतको चेन्नाईबाट आउँदै गरेको माटो फाल्ने मेशिनले ७० हजार घनफिट माटो फालेपछि ग्राउण्ड क्लियरिङ हुने बताइएको छ । माटो फाल्ने मेशिन चेन्नईबाट हिडिसकेको बताइएको छ । प्राबिधिकहरुका अनुसार त्यो माटो फाल्नलाई निरन्तर काम गर्दा पनि छ महिना लाग्न सक्छ ।
वि.सं.२०७६ वैशाख २२ आइतवार १६:०४ मा प्रकाशित