२२ वैशाख । प्र्रदेश ५ प्रदेशसभाले डेढ वर्षको अवधिमा रु ११ करोड दुई लाख खर्च गरेको छ । प्रदेशको तेस्रो अधिवेशन सकिँदासम्म चालूतर्फ रु नौ करोड ८८ लाख १५ हजार तथा पूँजीगततर्फ रु एक करोड १३ लाख ७६ हजार खर्च भएको संसद् सचिवालयले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रदेशसभाका सभामुख र उपसभामुखको पारिश्रमिक खर्च रु २५ लाख ५६ हजार तथा संसदीय दलका कर्मचारी तथा प्रदेशसभाका सदस्यको पारिश्रमिकका लागि रु १९ लाख ६३ हजार खर्च भएको संसद सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । यस्तै विषयगत समितिको कार्यालय व्यवस्थापनमा रु २७ लाख ५१ हजार, अन्य नयाँ कार्यालयका लागि रु पाँच लाख ९२ हजार र पुस्तकालय तथा संवाद केन्द्र व्यवस्थापनका लागि रु चार लाख ९१ हजार खर्च भएको छ ।
पत्रकार सम्मेलनमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको तेस्रो अधिवेशन सकिँदासम्म ४० विधेयक दर्ता भएकामा ३८ विधेयक पास भएको बताए । उनले भने, “अब साझा सूचीका कानून मात्रै बन्न बाँकी छन्, सङ्घीय संसदले बनाएपछि ती कानून पनि बन्छन् ।” एक वर्षको अवधिमा प्रदेशको राम्रो आधार तयार भएको सभामुखको भनाइ थियो । उपसभामुख कृष्णी थारुले प्रदेश पहिलो वर्ष सिकाइका क्रममा भए पनि राम्रा काम भएको बताए । प्रदेशसभाले गत वर्ष माघ २१ गतेदेखि पहिलो अधिवेशन शुरु गरेको थियो भने वैशाख २२ गते तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
वि.सं.२०७६ वैशाख २३ सोमवार १९:५७ मा प्रकाशित






























