back
CTIZAN AD

‘चिहान’बाट जुरुक्क उठेर यसरी सम्हाल्दै छन् महाथिरले मलेसिया

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

747 

shares

आज ९२ वर्षको उमेरमा डा महाथीर मोहम्मदले मलेशियाको प्रधानमन्त्री पदको कमान पुन : सम्हालेका छन् । ३ दशकअघि विकसित मुलुक बनाउने अठोटका साथ नेत्र चिकित्सक डा. महाथीरले २२ वर्ष प्रधानमन्त्रीको पद अटूट सफलताका साथ सम्हालेर आधुनिक मलेशियालाइ आफ्ना दलका सुयोग्य उत्तराधिकारीलाइ सन् २००३ मा सहज एवं सहर्ष हस्तान्तरण गरेका थिए । तर तिनै उत्तराधिकारीले पछि मुलुकमा निरन्तर वेथिति र भ्रष्टाचार बढाउने तिर लाग्नाले डा. महाथीरलाइ सह्य भएन र यो बूढेसकालमा पनि पुन : सत्ता सम्हाल्न राजनीतिमा हाम्फाल्न पुगे । अन्य कुनै विकल्प नदेखेपछि आफैले जन्माएर हुर्काएको राजनीतिक दलबाट अलग भइ नयाँ दल खडा गरेर आफै विपक्षको नेता बनेर चुनावमा भागलिइ १५ वर्षपछि पुन : बिजयी भएका छन् । र आज पुन ; प्रधानमन्त्री बन्न पुगेका छन् ।

नेपालमा २००७ सालमा प्रजातन्त्र आएको एक दशकजति पछि मात्र अंग्रेजको उपनिवेशवाट स्वतन्त्र भएका तात्कालिन नेपाल भन्दा गरिब, जनसंख्यामा नेपालजत्रो, क्षेत्रफलमा नेपाल (क्षेत्रफल १ लाख ४७ हजार बर्ग किमि) को दुगुना ठूलो पूर्व एशियाको मलेशिया (क्षेत्रफल ३ लाख २९ हजार बर्ग किमि), त्यस्तै जनसंख्यामा नेपालभन्दा ५ गुणा , क्षेत्रफलमा २२४ गुणा सानो मुलुक सिंगापुर (जनसंख्या ४० लाख, क्षेत्रफल ६९० बर्ग किमि, काठमाण्डौ उपत्यका भन्दा सानो) के कसरी समृद्धशाली बन्न पुगे, यिनका समृद्धितर्फको संघर्षयात्राको अध्ययन पनि रोमांचक लाग्दछन् ।

मलेशियाका चिकित्सक डा. महाथिर मोहम्मद र सिंगापुरका वकील ली क्वान यूले नेतृत्व गरेका ६० का दशकताकाका अस्तव्यस्त ती मुलुकहरुमा देखिएको समुन्नतिका कारण अहिले पूर्वतर्फ हेर भन्न पश्चिमा देशहरुलाई समेत वाध्य पारेको छ । वर्तमान विकसित अवस्थामा पुग्न युरोपलाई ४ सय वर्ष, जापानलाई ५० वर्ष तर, सिंगापुर र मलेशियालाई ३० वर्षमात्र लाग्नु नै अपूर्व ढंगको विकास दर कायम गर्न सफल साहसी पूर्वीय नेतृत्वको उपस्थितिले हो । जापान, कोरिया, ताइवान त त्यसै भईगए, चीन, थाइलैण्ड र हाल भारत समेत तीव्र विकास दरमा विश्व बजारमा कव्जा जमाउने तर्फ आफ्ना मुलुकलाई दौडाउन एकआपसमा सहयोग एवं प्रतिस्पर्धात्मक नेतृत्व गरिरहेका छन् ।

मलेशियाले हासिल गरेको समृद्धियात्राको चर्चामा केन्द्रीत होऔ । अच्छाखासा मनग्गे कमाईको चिकित्सा पेशालाई छाडेर राजनीतिमा हाम्फाली डा. महाथिरले मलेशियाको आर्थिक भविष्यको नक्सा फेरेर कमाल गरिछाडे । मलेय भाषामा वावासान २०२० (अर्थात भीजन २०२०) पदावलीलाई पहिलो पटक सन् १९९१ मा चर्चामा ल्याउने विश्वनेता उनी नै हुन् । भीजन २०१५ वा भीजन २०१० वा अन्य अंक नछानेर किन भीजन २०२० नै छान्न पर्यो ? महाथिर भन्छन्, ‘चिकित्सा पेशाको व्यक्ति भएको हुँदा आँखाको अप्टोमेट्रिष्ट दृष्टिमापनको अंक २० र २० भएमात्र मान्छेले सत प्रतिशत र पूर्ण स्पष्ट देख्न सक्छ भन्ने मलाई ज्ञान छ । तसर्थ, राष्ट्रको पनि सत प्रतिशत पूर्ण, स्पष्ट दृष्टि हुनु पर्ने हुदा सन् २०२० को यही चिकित्सकीय जादुई अंकप्रति मेरो विशेष लगाव हुन गएको हो ।’ ३० वर्षभित्र मलेशियालाई विश्वमा विकसित मुलुकमा अवतरण नगराई नछाड्ने दृढ प्रतिवद्धतासाथ अगाडीको बाटो ( द फरवार्ड वे) को महत्वपूर्ण घोषणामार्फत मलेशियालाई विकसित राष्ट्र बनाउने भीष्म प्रतिज्ञा पूरा गर्नेतर्फ महाथिरले आफ्नो सम्पूर्ण वुद्धि, मन, कर्मलाई एकहोराए । बोत्स्वाना, श्रीलंका, त्रिनिडाडजस्ता मुलुकहरु आ–आफ्ना भीजनका मुताविकको लक्ष्य हासिल गर्न तीब्र गतिमा अघि बढीरहेका छन् ।

महाथिरको द वे फवार्ड १९९१ दस्तावेजले के भन्छ ? यसमा मलेशियाको सन्दर्भमा विकासको परिभाषा, सार्वजनिक क्षेत्र र नीजिका निम्ति आर्थिक नीतिहरु, नीजि क्षेत्रले गर्नेैपर्ने योगदानको बुँदाहरुमा घोषणा छ । केही प्रमूख बुँदा यसप्रकार छन् । सन् २०२० सम्ममा आत्मविश्वासी मलेशियाली समाज, बलशाली चारित्रिक एवं नैतिक मूल्य मान्यता, लोकतान्त्रिक, उदार र सहिष्णु, हेरचाह गर्ने, आर्थिक रुपले समान एवं न्यायपूर्ण, प्रगतिशील एवं समृद्धशाली, पूर्ण प्रतिस्पर्धी, गतिशील, दह्रो र लचकदार अर्थतान्त्रिक स्वामित्वसहितको संगठित मलेशिया राष्ट्र हुन सक्ने छ । स्वतन्त्र मलेशियाको जन्म हुदाकाल देखि सामना गर्दै आएको नौ केन्द्रीय रणनीतिक चुनौतीहरुलाई अन्तत : पूरा नगरी पूर्ण विकसित मलेशिया हुन सक्ने छैन ।’

चुनौती १- सामूहिक एवं साझा भाग्य भावनानीहित संगठित एकिकृत मलेशियाली राष्ट्र स्थापना ।

चुनौती २-स्वतन्त्र, ताकतवान, आत्मविश्वासले भरिपूर्ण मलेशियाली समाजको निर्माण ।

चुनौती ३- परिपक्व लोकतान्त्रिक समाजको विकास ।

चुनौती ४-उच्च आत्मबल, नैतिकता एवं धार्मिक ताकतयुक्त समाज ।

चुनौती ५-परिपक्व र सहिष्णु समाजको विकास ।

चुनौती ६ प्रगतिशील बैज्ञानिक समाज ।

चुनौती ७- समृद्ध एवं स्नेही संस्कृतियुक्त समाज ।

चुनौती ८- आर्थिक रुपले न्यायपूर्ण एवं निष्पक्ष समाजको सुनिश्चितता ।

चुनौती ९- समृद्ध, पूर्ण प्रतिष्पर्धी, गतिशील, दह्रो र लचकदार अर्थतन्त्रसहितको समृद्ध समाज ।’

सन् १९५७ मा मलेशियाले बेलायतबाट स्वतन्त्रताप्राप्त गरेपछि महाथिरको सन् १९८१ देखि २००३ सम्मको २३ वर्षे दृढ वौद्धिक व्यावसायिक नेतृत्वले गर्दा तीब्र आधुनिकीकरणमार्फत इस्लाम धर्म राष्ट्र समुदायमाझ मलेशियालाई गौरवशाली समृद्ध राष्ट्र बनाएको छ ।

एक्काइसौ सताव्दीको विश्वमा टिकिराख्न अपरिहार्य हुने ज्ञानशक्तिमा आधारित अर्थतन्त्रले मात्र संभव भएकोले मलेशिया पनि ज्ञानमा आधारित अर्थतन्त्रलाई सुदृढ गर्ने कार्ययोजनासहित गम्भिर रुपले लागिपरेको हो ।

‘अल्छी र अदक्ष निजी क्षेत्रमाथि राष्ट्रले विकासका लागि विश्वास र भर गर्न सक्दैन । निजीक्षेत्र बलियो, गतिशील, दह्रो एवं आत्मनिर्भर, सक्षम र इमानदार हुनु पर्नेछ । सामाजिक उत्तदायित्वविनाको व्यक्तिगत मनाफामुखी मानसिकता मात्र व्याप्त भएमा राष्ट्र निर्माणका लागि नीजिकरण प्रकृया अगाडी बढाउन सकिने छैन । निजी क्षेत्रको सबैभन्दा वढी भूमिका मानव संसाधन विकासमा हुनु पर्नेछ । आफ्ना जनशक्तिलाई परिवर्तशील परिप्रेक्षमा समयानुकूल सधै प्रशिक्षित पार्दै लैजानु पर्नेछ र तिनका कार्यसम्पादनलाई नीजिक्षेत्रले यथोचित पुरस्कृत गर्नु पर्नेछ’ निजिक्षेत्रसंग डा महाथिर यस्तो आग्रह गर्छन् ।

स्वयंले तयार पारेको द वे फरवार्ड घोषणापत्रको अन्त्यमा महाथिरले भनेका छन्, ‘समुन्नत मुलुक बनाउनका लागि प्रत्येक नागरिकको थुप्रै काम हुनेछ । राष्ट्र विकासको कुनै एकमात्र सरल ठोस उपाय छैन । थुप्रैथुप्रै कामहरु थुप्रैथुप्रै मान्छेले सहीसही ढंगमा गर्नु पर्नेछ । सबै आत्मालोचनाका लागि सधै तयार हुदै, आफूलाई सच्याउदै लैजानु पर्नेछ । ईश्वरको कृपा भए, हामी अवश्य सफल भई छाड्ने छौ ।’

क्वीन्टलका क्वीन्टल तर्कभन्दा एक पाउ तथ्य अधिक मूल्यवान हुन्छ । जमानामा नेपाल भन्दा गरिब मलेशियाको प्रतिव्यक्ति आय अहिले ११ हजार अमेरिकी डलर नाघेको छ । चिकित्सक भएर पनि महाथिरले राष्ट्रको चुनौतीहरुलाई ठोस रुपले, स्पष्टसंग, केस्राकेस्रा केलाएर सावधानीपूर्वक पाइला चाल्दै सुधारे, गर कि मर भन्दै असंभवप्राय : प्रतीत लक्ष्य प्राप्ति सम्भव पारी देखाए ।नेपालको द वे फरवार्ड तर्जुमा गरी समृद्ध राष्ट्र बनाउन कुन महापुरुष जन्मने वा अघि सर्ने हो ? नित्यकर्मलाई नै गधाको भारी ठान्ने नेपालका रंग न ढंग, सिंग न पुच्छर, न प्राविधिक ज्ञानसीप, न दक्षता न संस्था, न सुयोग्य अनुशासित जनशक्तिको प्रवन्धकलाको मति भएका जिम्मेवार भनिने हालसम्मका राजनीतिकर्मी वा कर्मचारीहरुसँग यस्तो आग्रह गर्नु पनि झिनामसिना कुरा सिद्ध हुने नै होला ।

मेरो मुलुकमा यदि कुनै अनिष्ठ हुन लाग्यो भने म चिहानबाट जुरुक्क उठेर भए पनि मुलुकलाइ सम्हाल्ने छु, सिंगापुरका पूर्वप्रम ली क्वान युले आफुले ५ दशकपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बेलामा चेतावनी दिदै दिएको संभाषण मननयोग्य छ । डा महाथिरले पनि आज त्यस्तै ’चिहान’ बाट अहिले जुरुक्क उठेर अधोगतितिर लाग्दै गरेको मलेशियालाइ सम्हाल सुरु गरेका छन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०७:३३ मा प्रकाशित

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...