२७ बैशाख, विर्तामोड । चिया बगानमा ४० दिनदेखि मजदुरको आन्दोलन छ । ऐन र नियमावली अनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् ।
आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल पर्न थालेको छ । ‘काम गरेको पैसाले किनेको चामल सबै सकियो । अहिले एक छाक भात र एकछाक गिठ्ठा खाएर बसिरहेका छौं । श्रमिक विप्ता मुण्डाले भने ।
तीन छोराछोरीसहित पाँच जनाको परिवार चिया बगानकै कमाईमा आश्रित छ ।
बगानमा कामगर्ने श्रमिकलाई अन्यत्र काम पाउन मुस्किल हुन्छ । ‘अरुतिर हामीलाई काम दिदैँनन्,’ उनले भने, ‘हप्ता थापेर घर चलाउनेलाई ४० दिनसम्म काम नगरी खानलाई कुन आम्दानीले पुग्छ र ?’ कात्तिक उरावको परिवार पनि अभाव टार्न एक छाक गिठ्ठा खाईरहेको छ ।
उराव र उनकी श्रीमती भद्रपुर नगरपालिका ७ स्थित बुधकरण चिया बगानका श्रमिक हुन् । बगान ४० दिनदेखि बन्द छ । शुक्रबारको कान्तिपुर दैनिकमा बिर्तामोडबाट अर्जुन राजवंशीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०७:१७ मा प्रकाशित