
२९ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघले (एनआरएनए) ले सरकारसँग क्षतिपूर्ति मागेको छ ।
विवादमा आएको बालुवाटारस्थित ललिता निवासको जग्गामा एनआरएनएले बनाएको भवन अब सरकारको नाममा जाने कुरा बाहिर आइरहेको बेला एनआरएनएले भने सरकारसँग क्षतिपूर्ति मागेको छ ।
अष्ट्रेलियाको सिड्नीमा ११ र १२ मे मा आयोजित एनआरएनएको ओसेनिया क्षेत्रिय बैठकको समापनका क्रममा संघका अध्यक्ष भवन भट्टले एनआरएनएले बनाएको भवन सरकारका नाममा लगे क्षतिूर्ति दिनुपर्ने माग राखेका छन् ।
अध्यक्ष भट्टले यदि सरकारले एनआरएनएको भवन खरिद लाई गलत कार्य भनेर अर्थ लगाउँछ भने एनआरएनएको जति खर्च भएको छ त्यसको क्षतिपूर्ति सरकारले दिनुपर्ने जोडदार माग गरेका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष भट्टले भने, ‘बकाइदा राजस्व तिरेर लालपूर्जा लिएर नगरपालिकाको निर्माण अनुमति लिएर भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्झौता कसरी फिर्ता लान पाइन्छ ?’
अध्यक्ष भट्टले क्याविनेटबाटै निर्णय गराएर जग्गा खरिद गरिएको भन्दै पुन : क्याबिनेटमै जाने समेत बताए । उनले सरकारको जग्गा बेच्ने मान्छे गलत रहेको बताउँदै आफूहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।
२०७२ मा शेष घले अध्यक्ष र भवन भट्ट उपाध्यक्ष रहेका बेला एनआरएनएले जग्गा खरिद गरेको थियो भने भवन बनेको एकवर्ष वित्न नपाउँदै उक्त भवन रहेको जग्गा चरम विवादमा आएको हो ।
आफ्नै नेतृत्व रहेको बेला खरिद गरिएको उक्त जग्गाका बारेमा अध्यक्ष शेष घलेले सरकारका सबै निकाय र वकिलहरुको सल्लाह लिँदा जग्गा किन्न उचित भएका बताएपछि खरिद गरिएको बताएका छन् ।
अध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्नका लागि बनेको कार्यसमितिका संयोजक थिए भने उक्त जग्गा उनीहरुले भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङ मार्फत २०७२ जेठ १४ गते खरिद गरेका थिए ।
गैरआवासीय नेपाली संघ ओसेनिया बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु
वि.सं.२०७६ वैशाख २९ आइतवार १४:०७ मा प्रकाशित