३१ बैशाख, काठमाण्डौं । २०७५ जेठ ३ को मदन आश्रित स्मृति दिवशको अवसरमा एकता घोषणा भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताको बाँकी काम २०७६ जेठ ३ गते टुंग्याउँने भएको छ ।
एकताको ३ महिनामै काम सक्ने भनेपनि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र जिल्ला तथा स्थानीय तहको एकता हुन १ वर्ष लागिसकेको सन्दर्भमा बाँकी काम पनि यहि १ वर्षमै सक्ने गरी तयारी भइरहेको महासचिव विष्णु पौडेलले बताएका छन् ।
‘मदन आश्रित २६ औं स्मृति सभा तथा पार्टी स्थापनाको एक वर्षका अवसरमा जेठ ३ गते हुने कार्यक्रमलाई लक्षित गर्दै आयोजना गरिएको तयारी बैठकका क्रममा महासचिवले भने, ‘विगतका सबै कार्यक्रम भन्दा भव्यताका साथ आयोजना हुने सो कार्यक्रममै बाँकी कामहरुको घोषणा हुन्छ ।’
प्रदेश नं ३ अन्तर्गत उपत्यकामा भूगोल, गरै भौगोलिक पार्टी कमिटी र जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा भएको सो कार्यक्रममा जेठ २ गते नै मदननगर बल्खु सिंगारिने, त्यो क्षेत्रको चहलपहल बढाइने र वरपरका सडकसम्म माइक व्यवस्थापन हुने जानकारी गराइएको थियो ।
सो पार्टीका प्रदेश नं ३ का इन्चार्ज हित बहादुर तामाङ, सेक्रेटरी पशुपति चौलागाईँ र नेता श्री राम ढकाल ‘प्रशान्त’ लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा जनवर्गिय संगठन, केन्द्रीय निकाय र विभागहरुको घोषणा जेठ ३ गते भव्य समारोह वीच हुने बताईएको थियो ।
वि.सं.२०७६ वैशाख ३१ मंगलवार १२:२२ मा प्रकाशित