
बहराइनमा क्रियाशिल केही नेपाली संघसंस्थाले संयुक्त रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रवासी नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिती, गैरआवासीय नेपाली संघ र नेप्लिज वेलफेर सोसाइटीले संयुक्त रुपमा मन्त्री विष्टलाई वैदेशिक रोजगारमा बहराइनमा घरेलु कामदार भिषा अन्तरगत रहेका नेपालीहरुको पुनः श्रम स्वीकृत सम्बन्धि ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले घरेलु कामदारमा कार्यरत रहेका नेपालीहरुलाई पुनः श्रम स्वीकृती नगर्ने संसदीय व्यवस्था समितिको निर्णय गलत भएको भन्दै सच्याउन आग्रहसहित ज्ञापनपत्र बुझाएका हुन् ।
पुनः श्रम स्वीकृति नदिने समितिको निर्णयका कारण धेरै नेपालीहरु वर्षौदेखि घर नफर्कि बसिरहनु परेको, लामो समयसम्म परिवारबाट टाढा रहनु पर्दा पारिवारिक अविश्वास बढ्न गएको, छोराछोरीहरु विचलित भएका र मानसिक रुपमा तनाबको स्थिति सिर्जना गरिरहेको तर्फ ध्यानाकर्षण गराइएको छ ।
सम्झौता अनुसार रोजगारदाताले घरबिदा दिँदा पनि नेपालबाट पुनः फर्कन नपाइने व्यवस्थाका कारण बाबुआमाको काजकिरिया गर्न समेत नेपाल आउन नसकिरहेको दुखेसो उल्लेख गरिएको छ ।
आफू सुरक्षित र मर्यादित अवस्थामा काम गरिरहेका प्रमाणहरु पेश गर्दा पनि पुनः श्रम स्वीकृत नपाउनु अत्यन्तै दुखद् विषय भएको बताउँदै काम गर्दै आइरहेको कागजपत्र सम्बन्धीत देशको दूतावासबाट प्रमाणीकरण गराई पुनः श्रम स्विकृति दिन ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार ०९:०९ मा प्रकाशित




























