
मस्कट, ओमान ओमान नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा ११ नोभेम्बरका दिन अक्टोबर क्रान्तिको शतवार्षिकी उदघाटन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेको प्रमुख आतिथ्यमा तथा ओमान नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष जि. बि. लामाको अध्यक्षता सम्पन्न सो समारोहमा सल्लाहकार शालिकराम आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो । ज्ञातअज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात् बुद्ध बिकको सञ्चालनमा अघि बढेको सो समारोहको प्रमुख अतिथि शोभाकान्त लामिछाने ज्यूले दिप प्रज्ज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन मन्तब्यको क्रममा बोल्दै आज भन्दा एक सय वर्ष पहिले अक्टोबर महिनामा रुसको जारशाही शासनको बिरुद्धमा त्यहाँका मजदूरहरुले चलाएको सर्वहारा बर्गीय आन्दोलनले सफलता हासिल गरिएको ऐतिहासिक अवसरमा आज अक्टोबर क्रान्तिको शतवार्षिकी मनाईरहेका छौं भन्नु भयो । उहाँले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएर विभिन्न आरोहअवरोहहरु पार गर्दै आजको स्थितिसम्म आईपुग्दा कम्युनिस्ट पार्टीको नाउँमा धेरै पार्टीहरु देखिएता पनि नेपाली जनमानसमा सैद्धान्तिक धरातललाई अध्ययन गर्नु भन्दा संख्यालाई हेरेर त्यस्को पछि लाग्ने प्रबृत्तिले कम्युनिस्ट पार्टीमा बिचलन देखा परेको बताउनु भयो । “नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेको विभिन्न खाले अवसरवाद, बिचलन र षड्यन्त्रबाट बच्दै अक्टोबर क्रान्तिले देखाएको स्प्रीटलाई कायम राख्नको लागि सैद्धान्तिक पक्षलाई प्राथमिक दिदै स्वदेश तथा बिदेशमा छरिएर रहेका आम मजदुरहरुलाई एकता गरेर मात्र अक्टोबर क्रान्तिले देखाएको सपना र सर्वहारा बर्गको राज्यसत्ता स्थापना गर्न सकिन्छ” भन्नु भयो ।
रक्तिम अभियान ओमानका अध्यक्ष नारायण ज्ञवालीले रुसका पुँजीपतिहरुको विरुद्धमा त्यहाँका शोषित मजदुरहरुको मुक्तिको निम्ति लेनिनले त्यसबेला अक्टोबर क्रान्तिको सुरुवात गरेर हजारौ मजदूरहरुको त्याग र बलिदानीले गर्दा अक्टोबर क्रान्ति सफल भएको र बिश्वमा पहिलो पटक रुसमा समाजवादको स्थापना भएको स्मरण गराउनु भयो । उनले त्यहाँ जनताको जस्तै त्याग, बलिदानीलाई आतमासात गर्दै नेपाली जनतालाई पनि संगठित गर्न सकेमा नेपालमा पनि नौलो जनवादी क्रान्तिबाट मजदुरको राज्य सत्ता स्थापना गर्न सकिने बिचार ब्यक्त गर्नु भयो । एकता समाज महिला बिभागकी सचिब कमला खनाल लगाएत, विभिन्न एरिया तथा बिभागका सदस्यहरुको सहभागीता रहेको सो समारोहको अन्त्यमा सभाध्यक्ष जि. बि. लामाले समापान गरेका थिए । त्यस लगत्तै ओमान नेपाली एकता समाज अल्खुवैर एरिया समितिको आयोजनामा बृहत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए ।
सो प्रशिक्षण कार्यक्रमको अध्यक्षता अल्खुवैर एरिया समितिका सदस्य तथा महिला बिभागकी उपाध्यक्ष मनु सुनारले गरेका थिए भने सदस्य कुमारी तितुङले सञ्चान गरेका थिए । प्रशिक्षण कार्यक्रममा प्रशिक्षक शोभाकान्त लामिछानेले एकता समाजको स्थापना, अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भुमिका, जनवादी केन्द्रीयता बारे प्रशिक्षण दिनु भएको थियो भने नारायण ज्ञवालीले दर्शन शास्त्र र द्वन्द्वात्मक भौतिकवाद र यस्को महत्त्व बारे स्पष्ट पार्नु भएको थियो । यसैगरी जि. बि. लामाले संगठनिक पद्धति, यस्को महत्त्व र अनुशासन बारे प्रशिक्षण दिनु भएको थियो साथै तुलसीराम खनालले कार्यकर्ता र नेतृत्वबिचको अन्तरसम्बन्ध र ईन्द्रलाल खनालले रक्तिम साँस्कृतिक अभियानको भुमिका र गीता लिम्बूले ओमानमा महिलाहरुको अवस्था र संगठनमा खेलेको भुमिका बारे आफ्नो बिचार राख्नु भएको थियो । साथै अल्खुवैर एरिया समितिका तर्फबाट सचिब भिम भट्टराईले प्रशिक्षण कार्यक्रममा सहभागी भएका सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।