back

सङ्घीयताबाट फर्किन सकिँदैन – सभापति देउवा

वि.सं.२०७६ जेठ १६ बिहीवार

315 

shares
GLOBAL IME AD
NTC AD

१६ जेठ, काठमाडौँ । नेपाली काङ्ग्रेस(Nepali Congress) का सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताएका छन् । उनले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको बताए ।

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा बिहिबार आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तक्र्रियामा सभापति देउवाले भने, “सिंहदरबारबाट मात्र सिङ्गो मुलुकको सर्वाङ्गीर्ण विकास हुन सक्दैन, सम्पूर्ण देशलाई न्याय हुन सक्दैन भनेर सङ्घीयता आएको हो । सङ्घीयताको महत्वपूर्ण कार्य भनेको सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानु नै हो ।”

सङ्घीयता स्थापनाको उद्देश्य परिपूर्ति गर्न स्थानीय जनताका माग सुनुवाइका निम्ति उनीहरुकै प्रत्यक्ष सहभागिताबाट बन्ने सरकारले नै विकास र अधिकार सुनिश्चित गर्ने सक्ने धारणा व्यक्त गर्दै उनले भने, “त्यसका लागि सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा गएको हो ।” सङ्घीयता सफलताका लागि प्रदेशबीच एकापसमा अन्तरनिर्भरता र सहयोग पनि आवश्यक हुने उनको भनाइ थियो ।

‘सङ्घीयतालाई बेवास्ता गरियो’

सरकार बुधबार पेश गरेको बजेट हेर्दा सङ्घीयतालाई बेवास्ता गर्न खोजेको देखिन्छ भन्दै सभापति देउवाले बजेटले सङ्घीयतालाई अपमान गर्न खाजेको आरोप लगाए । “सत्तारुढ दलबाटै नेतृत्व गर्ने प्रदेशका मुख्यमन्त्रीले अधिकार नपाएको गुनासो गर्न थालेका छन्, त्यसैले यो सरकार सङ्घीयताकोे पक्षमा छैन, सङ्घीयताको विरोधी छ”, उनले थपे ।

सरकार स्थानीयस्तरमा गएको अधिकार केन्द्रीकरण गर्न खोजिरहेको आरोप लगाउँदै उनले प्रदेशले संविधानअनुसारको अधिकार पाउनुपर्ने र सोहीअनुसार काम गर्न पाउनुपर्ने बताए । प्रदेश र सङ्घबीचको सहयोगको सम्बन्ध हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको सभापति देउवाले बताए । काङ्ग्रेसले सङ्घीयतालाई सफल बनाउन लागिपरेको बताउँदै उनले प्रदेशका पक्षमा अगाडि बढ्नुपर्ने बेला आएकोमा जोड दिए । विगतमा राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण राजतन्त्र फाल्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारले आज लोकतन्त्रलाई असफल र कमजोर बनाउन लागिपरेको टिप्पणी गरे । “त्यसका लागि काङ्ग्रेसले अर्को लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ”, उनले भने ।

काङ्ग्रेसको भूमिका महत्वपूर्ण

कार्यक्रममा पार्टीका उपसभापति एवं प्रतिष्ठानका अध्यक्ष विमलेन्द्र निधिले सङ्घीयता प्रजातान्त्रिक मोडेल भएको र नेपालमा सङ्घीयता लागू गर्न काङ्ग्रेसले नै नेतृत्व गरेको बताउँदै यसलाई सफल बनाउन पनि काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको अहम् भूमिका हुने विचार व्यक्त गरे ।

सरकारका क्रियाकलाप सङ्घीयताको भावना र मर्म विरोधी भएको आरोप लगाउँदै उनले संविधानअनुसारको अधिकार, आवश्यक जनशक्ति र पर्याप्त स्रोतसाधन नपाउँदा सातै प्रदेशले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गरे । काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काले २००७ सालमा पार्टीका नेता बिपी कोइरालाले कोरेको राजनीतिक माार्गअनुसार नै काङ्ग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भई सोहीअनुसार नै पार्टीकै अग्रसरतामा निर्वाचनमार्फत् सङ्घीयता कार्यान्वयनमा आएको उल्लेख गरे । उनले संविधानअनुसार पार्टीको विधान बनाउने काङ्ग्रेस पहिलो पार्टी भएको जानकारी गराउँदै नयाँ विधानअनुसारका पार्टीका अन्तरिम संरचना बनाउन आवश्यक छलफल र तयारी अघि बढेको बताए ।

जनताका आवश्यकता

पार्टीकी नेत्री डा आरजु देउवा राणाले सुशासन, स्रोत साधनको बाँडफाँट र परिचालन तथा भ्रष्टाचार नियन्त्रणमा वर्तमान सत्ता पक्षले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्दै काङ्ग्रेसले आफू विजयी भएका स्थानीय तहमा उपर्युक्त विषय कार्यान्वयमा ध्यान दिई राम्रो काम गरेर उदाहरणीय बन्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा प्रा डा लोकराज बरालले सङ्घीयता कार्यान्वयनका चुनौतीसम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै सङ्घीयताको मर्मअनुसार व्यवहारमा कार्यान्वयन नभएसम्म सङ्घीयता दिगो नहुने बताए। सङ्घीयताका जानकार डा रुद्र शर्माले सङ्घीयता प्रजातन्त्रको विस्तारित रुप भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि काङ्ग्रेसजस्तो प्रजातान्त्रिक शक्तिको अग्रसरताको आवश्यकता औँल्याए ।

वरिष्ठ अधिवक्ता डा सूर्य ढुङ्गेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सङ्घीयतासम्बन्धी संवैधानिक र कानूनी विषयलाई जनताका आवश्यकतासँग जोडेर कार्यान्वयन गर्न सकेमात्र सङ्घीयता सफल हुने धारणा व्यक्त गरे । काङ्ग्रेसले गणतन्त्र दिवसका अवसरमा यही जेठ १४, १५ र १६ गते देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको छ ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १९:४४ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...