१ मङ्सिर, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताउनुभएको छ ।
आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेसम्म ६२ वटा जिल्लाको पुनःसंरचना भइसकेको छ । आयोगका अनुसार बाँकी जिल्लाहरुमा तीव्र गतिमा काम भैरहेकाले छिट्टै टुङगो लाग्छ ।”
मन्त्री पाण्डेले आयोगलाई चाँडो काम सकेर प्रतिवेदन बुझाउन निर्देशन दिइएकामा यसै हप्ता वा मङ्सिरको दोस्रो हप्ताभित्रै प्रतिवेदन बुझाउने जवाफ आएको जानकारी दिनुभयो ।
संविधान संशोधनको प्रस्ताव सहमति गरेरै संसदमा दर्ता गर्न विभिन्न दलका शीर्ष नेतासँग वार्ता भइरहेको उहाँले बताउनुभयो ।
मन्त्री पाण्डेका अनुसार संशोधन प्रस्ताव पारित हुने गरी प्रधानमन्त्रीले गृहकार्य जारी राख्नुभएको छ ।
उहाँले भन्नुभयो, “मधेसी मोर्चाले समय लागे पनि संशोधन प्रस्ताव पारित होस् भन्ने चाहना राखेकाले सहमतिको प्रयास भैरहेको छ ।” रासस

