
३२ जेठ, गुल्मी । संविधानले जातीय छुवाछुतमा प्रतिबन्ध लगाए पनि धुर्कोट गाउँपलिका ५ वस्तुको जेष्ठ नागरिक सेवा केन्द्रमा यो जिवीतै रहेको दलित अगुवाहरुले बताएका छन् । उक्त नागरिक सेवा केन्द्रमा दलित जेष्ठ नागरिक र अन्य जेष्ठ नागरिकमा विभेद गर्ने गरिएको अगुवाहरुको आरोप छ ।
पछिल्लोपटक १ सय २ वर्षीया अम्बी बिकलाई उक्त केन्द्रमा आफूले खाएको भाँडा माझ्न गैरदलित जेष्ठ नागरिकहरुले दवाव दिएको घटना बाहिरिए सँगै केन्द्रमा हुने विवाद बाहिर आएको हो । गाउँपालिकाले मासिक ७ हजार रुपैयाँ तलब दिएर सफाई र सहयोगी कर्मचारी राखेपनि केन्दै पुग्ने दलित जेष्ठ नागरिकहरुलाई भने आफैं भाडा माझ्न दवाव दिइने गरेको अगुवाहरुले बताएका छन् ।
दैनिक २५ जना सम्म जेष्ठ नागरिकहरुले सेवा लिइरहेको उक्त केन्द्रमा १ सय रुपैयाँ बराबरको खाजा प्रत्येक जेष्ठ नागरिकलाई दैनिक दिइने गरिन्छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको ३ लाख र गाउँपालिकाको ५ लाख रुपैयाँ बराबरको सहयोगमा उक्त केन्द्र सन्चालनमा आएको हो ।
केन्द्रमा आएका दलित जेष्ठ नागरिकले सार्वजनीक स्थानमा विभेद गर्न नहुने भन्दै प्रतिवाद गरे पनि गैरदलितहरुले –दलितले भाडा माझ्ने त हो नि के भान्से हुने त भन्ने गरेको दलितहरुको आरोप छ ।
वि.सं.२०७६ जेठ ३२ शनिवार १०:३७ मा प्रकाशित