३ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
नेपाली काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले समय उपलब्ध नगराएकोमा विरोध गर्नुपरेको जनाएको छ । प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा सभामुख महराले प्रधानन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहेकाले उनको वक्तव्यपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भने ।
सभामुखले प्रतिपक्ष दलका सांसदलाई उक्त आग्रह गरिरहँदा नेपाली काँग्रेसका सांसदले संसदीय मर्यादा कायम गरियोस् र प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्टम अगाडि गएर नाराबाजी गरेका । नेकाका सांसदलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी सभामुखले पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्टममा पुग्नुभए पनि सम्बोधन नगरी त्यहीँ उभिरहेका थिए। प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार ११ बजे बस्ने गरी बैठक स्थागित गरिएको घोषणा गरे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख थियो ।
वि.सं.२०७६ असार ३ मंगलवार १३:१२ मा प्रकाशित






























