
४ असार, अमेरिका । युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले विभिन्न राज्यमा यस वर्षको साकेला उभौली सम्पन्न गरी बोस्टन शहरमा अन्तिम समापन गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी अर्गनाइजेशनका केन्द्रिय सभापति मुना राईले अमेरिकाको आन्ध्र महासागरदेखि प्रशान्त महासागरसम्म किराँत राईहरुको भाषा, धर्म तथा संस्कार संस्कृतिलाई जीवन्त राख्दै भावी पिढीलाई हस्तान्तरण गर्न २००७ देखि यो अर्गनाइजेशनको स्थापन गरेको बताइन् ।
राईले किराँत राईहरु बिश्वको जुनसुकै ठाउबाट आएर अमेरिकाको बिभिन्न राज्यमा छरिएर रहे पनि यो अर्गनाइजेशनले सबैलाई एक सुत्रमा बाधेको छ भन्ने बिस्वाश आफूले राखेको बताइन् ।
‘किरात राईहरुको परिचय र मौलिकतासँगै नेपालीपनलाई अमेरिकी परिवेशमा स्थापित गर्न अर्गनाइजेशनले महत्वपूर्ण भूमिका खेलेको छ ।’ सभापति राईले भनिन् ।
अर्का विशेष अतिथि किराँत राई सोसाइटीका सभापति राम राईले शुभकामना मन्तब्य दिदैं अमेरिकामा रहेका किराँत दाजुभाई दिदीबहिनीहरुले एक अर्काको दुःख,सुखमा सहभागी हुनु पर्ने बताउँदै यो नै किराती राईहरुको पहिचान भएको बताए । उनले यो साकेलाले जीवनमा सुख शान्ति र समृद्दि ल्यावोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

अर्गनाइजेशनका पूर्वसभापति बिष्णु राईले किरात राईहरुको यो चाड संसारको सबै ठाउमा फैलिएकोमा गर्व गर्दै यसको पहिचानको लागि १ नं प्रदेश ‘किरात प्रदेश’ हुनुपर्ने माग राखेका थिए ।
त्यस्तै ए ए सी सी म्यासाच्युसेट्सका सभापति प्रल्हाद केसी, जीबिएनसीका सभापति अर्जुन जंग कुँवर, एनआर एनए आइसीसी सदस्य तिर्सना काफ्ले शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै अन्य उपस्थितमा फिप्ना सभापति सुन्दरी गुरुङ, गुरुङ समाज न्युहेम्प्शायरका अध्यक्ष शम्भु गुरुङ, एनआर बोस्टनका सभापति प्रेम तामांग, तमु समाज बोस्टनका सभापति मीन गुरुङ, गुरुङ समाज बोस्टनका सभापति प्रकाश गुरुङ, पशुपति बुद्ध फाउन्डेशनका सभापति बिष्णु मणी आचार्य, एनआरएनए एनसीसी बोर्ड डाइरेक्टर छत्र गुरुङ,आइएनएलएस म्यासाच्युसेट्स च्याप्टरका सभापति यम पौडेल, एनआरएनए न्यु हेम्प्शायरका सभापति डम्बर कडरिया, मगर समाज बोस्टनकी सभापति सरिना राना, एनएचएनसीका पूर्वसभापति मीन गौतम, लायन्स क्लब न्युहेम्प्शायरका सभापति उमेश कोईराला, जात्रा नेपालका सभापति मिलन बस्नेत लगायत रहेका थिए ।

सभापति मिलन बस्नेतको तर्फबाट कार्यक्रमको लागि सोडा पानी उपलब्ध गराई सहयोग गरिएको कार्यक्रममा नवान्तुक राईहरुलाई स्वागत गरिएको थियो । यो वर्ष कलेज तथा हाईस्कुल ग्राजुएशन गर्नेहरुलाई खादा ओढाई ट्रफी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम नक्छुंग पदम बहादुर राईबाट पूजा आजा गरी शुरु गरिएको थियो । जय राईले पिपिरी धुन र सोङ्ग गेर्वा कुलुङ्गले नृत्य गरेका थिए भने अर्गनाइजेशनका न्यु इंग्ल्याण्ड च्याप्टरबाट साकेला नाच शुरु गरिएको थियो ।
अन्त्यमा सम्पूर्ण सहभागीको गोलो घेरामा ढोल झ्याम्टा बजाएर साकेला नाच गरिएको थियो ।
अर्गनाइजेशनका न्यु इंग्ल्याण्ड च्याप्टरका उपसभापति कर्ण राईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन न्यु इंग्ल्याण्ड महासचिव शेखर राई र पूर्व उपसभापति अनिता राईले संयुक्त रुपमा गरेका थिए ।

अर्गनाइजेशनका न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको बिसर्जन गर्दै राईले सम्पूर्ण सहभागी तथा कार्यक्रम सफल बनाउनु हुने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
वि.सं.२०७६ असार ४ बुधवार १७:१७ मा प्रकाशित



























