back

टीकापुरमा ‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन शुरु

वि.सं.२०७६ असार १९ बिहीवार

825 

shares

१९ असार, लम्की । कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् ।

बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै आइरहेको टीकापुरमा बेर्ना उत्पादन शुरु भएपछि अझ केरा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको छ ।

आठ वर्ष पहिले केराखेती शुरु गरेका कृषकद्वयले गतवर्षदेखि टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन थाल्नुभएको हो । भारतको गुजरात राज्यस्थित अहमदाबादको एबिसी बायो टेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर प्रविधिसम्बन्धी उनीहरूले तालीम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेको कृषक धामीले बताए ।
“गुजरातको एबीसी कम्पनीमा गएर गत वर्ष तालीम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेका हौँ”, धामीले भने, ‘‘ग्रिनहाउस (हरितगृह) निर्माण, ‘हाइटेक’ नर्सरी निर्माण, बोटको उपचार पद्दतिका बारेमा हामीले तालीम लिएपछि सजिलो भएको छ ।”

ललितपुरमा रहेको जी सेभन कम्पनीको प्राविधिक सहयोगमा १० कठ्ठा जमीनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झण्डै २० लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ ।

नर्सरीबाट टिस्यु कल्चर प्रविधिमा जि नाइन र विलेयम जातका केराको बेर्ना, सुन कागती र अनारका बेर्ना पनि उत्पादन भइरहेका छन् । “ल्याबबाट तन्तु प्रजनन् गरेर बिरुवा निकाल्ने यो प्रविधिबाट उत्पादित तीन लाख केराका बेर्ना यस वर्ष बिक्री गरेका छौँ”, कृषक कोइरालाले भने “अत्याधुनिक ल्याबबाट उपचारपछि उत्पादन गरिएका केराका बेर्नाहरूमा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गइरहेको छ ।” कोइरालाले गत वर्ष ७० हजार बेर्ना बिक्री गरेको जानकारी दिए ।
कैलाली र कञ्चनपुरमा केरा खेती विस्तार भइरहेको छ । बेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफूहरूले टिस्यु कल्चर प्रविधिबाट बेर्ना उत्पादन थालेको कोइराला बताउछन् । “टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहेँलो हुँदै जाने, गुभो कुहिने र बोट सुक्दै जाने जस्ता समस्या हुँदैनन्”, कोइराला भन्छन् “रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो ।”

नर्सरीले उत्पादन गरिरहेका विलयम र जि नाइन जातका केरा कम समय र कम लगानीमा धेरै उत्पादन हुने गरेको केरा कृषक विनोद साह बताउछन् । “टिस्यु कल्चर विरुवाबाट कम समय र कम लगानीमा राम्रो उत्पादन भएको पाएका छौँ”, साहले भने, “सकर विरुवाबाट पनि नहुने होइन, तर कृषकहरू पछिल्लो समय टिस्यु कल्चरमा आकर्षित भइरहेका छन् ।”

आधुनिक प्रविधिमैत्री नर्सरी सञ्चालनमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगतको कृषि एकाइले सहयोग गर्दै आएको छ । आयोजनाले कृषकहरूका लागि चाहिने बीउ, कृषि उपकरण आदिमा अनुदान दिन थालेपछि समेत कृषकहरू केराखेतीतर्फ आकर्षित हुँदै आएका छन ।

टिस्युकल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोषबाट हजारौँ बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनीयरहरूले बिरुवाहरू उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा रसायनहरूको प्रयोग गर्दै हुर्काउँदै सानासाना कोषहरूमा विभाजन गरेर हजारौँ बिरुवा उत्पादन गर्न सकिन्छ । बिरुवाको कोषलाई हुर्काउन ल्याबमै छ महिनासम्म समय लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै तीन महिनासम्म बिरुवालाई हुर्काइन्छ ।

तीन महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो त्यही ठाउँमा ग्रिनहाउस निर्माण गरेर राखिन्छ । झण्डै तीन महिना ग्रिनहाउस नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ । कृषि विज्ञ कुलप्रसाद तिवारी भन्छन् “टिस्युकल्चर बिरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ, अत्याधुनिक बायोटेक ल्याबभित्र रसायनहरूको सहायताले हुर्किने हुनाले विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्षको समय लाग्छ ।”

उनी नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले टिस्युकल्चर बिरुवा अन्यको तुलनामा रोग कम लाग्ने, बढी फल दिने, रोगसँग लड्ने क्षमता बढी हुने बताउछन् । कृषि विज्ञ तिवारीका अनुसार नेपालमा टिस्यु कल्चर प्रविधिको ल्याब छैन । भारत लगायतका अन्य देशबाट टिस्यु कल्चर गरेर ल्याइएको बिरुवा केही महँगो पर्न जान्छ । नेपालमै यसको ल्याब र दक्ष जनशक्ति उत्पादन गर्न सके बिरुवाको बेर्ना उत्पादन गर्न सस्तो हुने उनले बताए । हाल नेपालमा टिस्यु कल्चर प्रविधिका बिरुवाहरू विशेषगरी भारतबाट आउने गरेका छन् । कैलाली जिल्लामा ७३० हेक्टर जमिनमा केरा खेती गरिएको छ र वार्षिक १० हजार ९५० टन केरा उत्पादन हुन्छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १३:२४ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...