आफ्नैं घरको बलेंसीमा
भलभली बगेको
दाजुको रगतमा कलम चोबेर
सहोदर भाइ
इतिहासको रचना गर्दै थियो ।
युगका
ताडपत्रमा अंकित
द्धिअर्थी अक्षरहरु
अस्पष्ट थिए ।
ं
कति कति
होनहार युवा युवती–ढले
गुमनाम भए ।
कल्कलाउँदो वय नढल्दै
कैयौं निर्दाेष
यौवनाका सिंदुर पुछिए ।
बिद्रोहको अदृश्य चितामा
बृद्ध आमाबुबाका
अनेकस्वर्णिम आकांक्ष्याहरु–दफन भए ।
दुधेबालकलाई समेत
उग्र भीडको सामुन्ने
बली चढाएर
शहीदको लर्कोमा उभ्याइयो ।
भनियो
‘क्रान्ति निर्मम हुन्छ ।’
अनेक शान्त बिहानी
मृत्युको बर्बर गीत गाउँदै–उदाए ।
मानवता
बन्दुकको कुन्दामा बन्दी बनाइयो ।
थकाइ बिसाउने निद्रालु रातहरु
मृत्युको
कोलाहल बनेर तर्सायो ।
भय र त्रासको एकछत्र साम्राज्य चल्यो
किन र कस्का लागि ?
प्रश्न इतिहासको… !!
ं
शान्ति समानता र समृद्धिका
उल्लासमय बुलन्द गीतहरु
आज किन–वेदनाका राग अलाप्दै छन् ।
क्रान्ति
निराशा र अँध्यारो तर्फ जाने सुरुङ्ग–हुँदै होइन ।
थाहाछैन
पालैपालो सत्ता
क्रान्तिको काट्टो खाने–पात्र मात्र
किन बन्छ ?
उस्तै छन्–हिजो जस्तै
शीतले खाएर फुटेका कुर्कुचा
र
भोकले चिच्याउने ओठहरु ।
अभावमा रोइ रहेकै छन्
तराईका दूरवस्ती
गाउँ बेसीं र कर्णालीका खोंचहरु ।
मरुभूमिको तातो भट्टीमा बालुवा पेलेर
रगत,पसिना र आँसु
अनि
रातो बाक्साको मजबुर लासमा
बन्दकीराखि साटेको
रिंगेट र दिनारमा
भर्से्लिजको कृतिम दरबारभित्र
अंशको लागि–हकदावी पेस हुन्छ ।
मूलढोकामा उभिएर
भ्रष्टाचारको महादैत्य
ढीकुटीको संरक्षक बन्छ ।।
उस्तै छ
सत्ताको अदूरदर्शी–दंभी गर्जन ।
ज्यानमाराहरु
उपहारमा पाएको–सुनको पलङ्मा
आनन्दले–घुरीरहेका छन् ।
शक्ति र पैसाको इसारामा मात्र
न्यायालय
मुद्दाको इजलास राख्छ र
दाताको पक्षमा–फैसला सुनाउँछ ।
ं
जे नहुनु पर्ने
त्यही भएको छ !!
इतिहासको प्रदूषित लेदो
शासनका
दुर्गन्धित नालिहरुमा
झनै घनीभूत भएर बगेकोछ ।
सत्ताको ऐयास चोकमा
निर्वस्त्र उभिएर
आम जनताका सपनाको
सार्वजनिक–हत्या गरिदैछ
र
आशाको भव्य बस्ती जलाउँन
क्रान्तिका मसिहाहरु नै
हातमा राँको बोकेर
आगो झोस्न तम्तयार छन् ।
निरीह र लाचार
मुकदर्शक आम जनता
आफ्नैं
अस्मिता र भविष्य लुटिएको
रमिता हेर्दै
जुलुसमा सामेल भएर
ताली–ठोकीरहेका छन्
नारा–उराली रहेका छन् …..।
वि.सं.२०७६ असार २१ शनिवार ०८:०३ मा प्रकाशित




























