मेरो देश दुखिरहेछ
तर यहाँ
लाखौँ मलामीहरुको भिड
सलामी ठोकिरहेछ बर्दी लगाएर
बेजान मुर्दालाई ।
ए मलामीभिडमा
सलामी ठोक्ने बर्दीहरु हो !
आऊ
मलाई बुटैबुटले ठोक
हो,
मलाई बुटैबुटले ठोक
किनकि, मैले गल्ती गरेँ
म,
देशलाई काँधमा बोकिहिँड्ने भरिया भएँ ।
तैपनि म,
मेरो देशलाई
मुटुमा बोक्छु
छातीमा बोक्छु
शिरमा बोक्छु
जब बोक्छु
आँखामा देशलाई
तब बग्छ
कर्णालीझैँ देशसँगै आँखा ।
ठोक सलामी, अझै ठोक
पुच्छरबाट लुछ्दै
मुटुकलेजो खान भ्याउने
धारिला दाँत भएका ब्वाँसाहरुलाई
जिउँदो हुँदा पनि ठोक
मरेपछि पनि ठोक सलामी
पड्काऊ तोप
डरको देहावसान हुने गरी
र चलाऊ बुल्डोजर
भर्खरै जन्मिएका शिशु विचारहरुमाथि
तर, देशको छातीमाथि बसेर
बिस्ट्याउनेहरुलाई सलाम गर
र ठोक सलामी
जिउँदो हुँदा पनि ठोक
मरेपछि पनि ठोक सलामी
ए मलामीहरु हो ।
एकदिन देशै विक्री हुने छ
यिनैका हातबाट
ठूलो ठेकेदारको हातमा
त्यस दिन आर्यघाटमा भेला भएर
फेरि
कुन चितामा सुताएर
सलामी ठोक्छौ
आफ्नै देश चपाउनेहरुलाई ?
ए मलामीहरु हो !
मलाई जबाफ चाहियो,
ए सलामी ठोक्नेहरु हो !
मलाई जबाफ चाहियो
आजै, अहिल्यै, यति खेरै ।
गौशाला न.पा. १, महोत्तरी
९८६११९६९६६
वि.सं.२०७६ असार २१ शनिवार ०८:०७ मा प्रकाशित




























