२९ असार, काठमाडौँ । श्रीलंकाका लागि नेपाली राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन् ।
प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भिर नरहेको र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् । उनको राजीनामा स्वीकुत भएको छ ।
‘राजदूतले कुनै पनि कर्मचारीको मूल्याङ्कन गर्न नपाइने, होस्ट सरकार (श्रीलंकाका) का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका कर्मचारीले आफूले नियमित पठाएको प्रतिवेदनको उत्तर नदिने भएपछि पद ओगटेर बस्नुको औचित्य नभएर राजीनामा दिएँ,’ प्याकुरेलले टेलिफोनमा भने, ‘सरकार र राजनीतिक नेतृत्वप्रति मेरो गुनासो छैन । तर, कूटनीतिक सेवाका कर्मचारीलाई यसरी छाड्ने हो भने उनीहरुले मुलुकलाई भड्खारोमा पार्छन् । कर्मचारी कुनै विषयमा पनि गम्भीर छैनन् ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत प्याकुरेललाई राजीनामा पुनर्विचार गर्न पटकपटक आग्रह गरेका थिए । त्यसैले उनको राजीनामा स्वीकृतिमा ढिलाइ भएको थियो । आइतबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ असार २९ आइतवार ०८:२७ मा प्रकाशित






























