६ साउन, कैलाली । आफ्नै बुबालाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका११ सिसैया टोल बस्ने ५५ वर्षीय उदय रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
रावतले मादक पदार्थ सेवन गरी आफ्नै बुबा ७५ वर्षीय काल्चे रावतको हत्या गरेको र आमालाई समेत हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उदय रावतलाई पक्राउ गरेको हो ।
हसियाँ प्रहारबाट घाइते भएकी उनकी आमा ६० वर्षीया नन्दा रावतलाई उपचारको लागि घोडाघोडी अस्पताल सुख्खड लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७६ साउन ६ सोमवार १२:४२ मा प्रकाशित




























