६ साउन,काठमाडौं । माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने राहुल पाण्डेलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पाण्डेले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
उक्त प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको सो महाशाखाले जनाएको छ ।
वि.सं.२०७६ साउन ६ सोमवार १२:५४ मा प्रकाशित




























