Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

बाढी र डुबानले पशु आहारा जुटाउन सकस



९ साउन, बर्दिवास । महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको आहारा जोहो गर्न नसक्दा पिरोलिएका छन् । असार अन्तिम साताको बाढी र डुबानले चरण क्षेत्र पुरिनाका साथै घाँस लगाएको ठाउँमा डुबानको हिलो वा लेदोले छोपेपछि गाईवस्तुकोे आहारा जुटाउन नसकेर उनीहरू बिलखबन्दमा परेका हुन् । साउन लागेपछि दुई÷तीन दिन पानी थामिए पनि गत शनिबारयता लगातार झरी परिरहेकाले तिनको आहारा जुटाउन झन् सकस परेको हो ।

“गोठमा गाई÷भैँसी ड्वाँ–ड्वाँ कराइरहेका छन्, फुकाएर कतै चराउन लाने ठाउँ छैन”, भङ्गाहा नगरपालिका–६ हतिसर्वा मजराका पशुपालक किसान सीताराम सरदारले विरक्तिँदै भने, “रातु नदीको तटीय चरन क्षेत्र बालुवाले पुरेको छ, धेरैजसो सार्वजनिक पर्ति र ऐलानी चौर अतिक्रमित भएका छन्, अब वस्तु पाल्न नसकिने भइयो हजुर !” रातु नदीका पुराना भँगाला क्षेत्र तटबन्धले बाढी नआउने बनाएपछि भूमाफियाहरूले खाली जग्गा कब्जा गरकाले चरन क्षेत्र मासिएको सरदारको भनाइ छ ।

बाढी र डुबानले बस्ती तहसनहस बनाएपछि अहिले पशुपालन व्यवसाय निकै कठिन भएको पीडित किसानले बताएका छन् । “घरमा १० वटा भैँसी छन्”, भङ्गाहा–४ की पशुपालक किसान हिरादेवी दाहालले भने, “पछिल्लो १५ दिनदेखि पराल र पानीका भरमा छन्, डुलाउने र घाँस काटेर ल्याउने ठाउँ पुरिएपछि ज्यादै अप्ठ्यारो परेको छ ।” बाढी, डुबान र यता केही दिनदेखिको झरीले हरियोपरियो खान नपाएपछि दुधालु वस्तुको दूध स्वात्तै घटेको दाहालको गुनासो थियो ।

जिल्लामा पशुपालन व्यवसायमा बर्दिवास नगरपालिका–७ मनहरीपुर, वडा नं ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरा उम्दा ठाउँ मानिन्छन् । त्यसैगरी भङ्गाहा, लोहारपट्टी, औरही र गौशाला नगरपालिका क्षेत्रमा पहिलेदेखि नै पशुपालन व्यवसाय राम्रो देखिँदै आएको थियो । यी क्षेत्र खुला नदी तटमा प्रशस्त चरन क्षेत्र हुँदा किसानले गोठमा टन्न गाई÷भैँसी पाल्दै आएका थिए । तर पछिल्लो दिनमा चरन क्षेत्र अतिक्रमित भएका र केही बाँकी क्षेत्र बाढीले पुरेपछि किसानको पिरोलो बढेको औरही नगरपालिका भोइल सोनामाइका किसान मोहन महतोले बताए ।

आफ्ना स्थानीय तहका प्रतिनिधिले पशुपालन व्यवसायलाई सघाउन कुनै कार्यक्रम नल्याएको पनि पशुपालक किसानको गुनासो छ । “सबैको जीवन त कृषि नै हो तर हाम्रा स्थानीय तहका प्रतिनिधिले हामीलाई ल राम्ररी वस्तु पाल्नुहोस्, हामी हेर्न आउँछाँै पनि भन्दैनन्”, गौशाला नगरपालिका बेलगाछी ढल्केवरकी किसान मनमायाँ ल्हायोले भन्नीन, “स्थानीय तहले पशुपालन व्यवसायलाई सहयोग पुग्ने कार्यक्रम ल्याइदिए किसानलाई राहत हुने थियो ।”

जिल्लामा रहेका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये यसपालि औरही नगरपालिकाले भने पशुपालक किसानलाई उत्साहित बनाउन आफ्नै घरपालुवा दुधालु वस्तुबाट कम से कम आठ लिटर दूध उत्पादन गर्नेलाइ वार्षिक २५ हजार पुरस्कार दिने निर्णय गरेको छ । यो र यस्तै पशुपालक किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम अरू स्थानीय तहले गर्नुपर्ने किसान आन्दोलनमा सरिक रहँदै आएका महोत्तरी भङ्गाहा–४ का किसान मुकुन्द दाहालको सुझाव छ ।

पशुपालक किसान आहारा जुटाउन नसकेर पिरोलिएका बेला पशु स्वास्थ्य विज्ञले भने घरमा आफ्नै प्रयत्नले पोषिलो पशु आहारा बनाउन किसानलाइ सुझाएका छन् । अहिले बाढी, डुबान र झरीले पशु आहार जुटाउन अप्ठ्यारो परेका बेला धेरै पटक पानीमा पीठो तताएर घरपालुवा पशु वस्तुलाई दिइरहन र घर वरपर नै राखिएको पराल टुक्र्याएर गहुँको भुस्सामा मिसाएर खान दिए तत्कालको अभाव टार्न सकिने पशु स्वास्थ्य र हेरचाहबारे अभिरुचि राख्दै यस क्षेत्रमा स्वयंसेवा गर्दै आएका सामाजिक अभियन्ता बर्दिवास–२ का महेशकुमार झाले बताए ।

पशुपालक किसानले शीतलहर र लगातार वर्षा हुने यामका लागि घर वरपर नै पोषिलो घाँस लगाउने गरे केही दिनको प्रतिकूल मौसममा पशुवस्तुलाई आहारा जुटाउन गाह्रो नहुने पशु स्वास्थ्यबारे चासो राख्ने अर्का सामाजिक अभियन्ता भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले